स्वास्थ्य संस्था दर्ता र नवीकरणको प्रक्रिया अघि बढ्यो

साझाकुरा
२०८२ बैशाख ९, मंगलवार १०:४१

हेटौंडा- बागमती प्रदेश सरकारले विद्युतीय प्रणालीमार्फत स्वास्थ्य संस्था दर्ता÷ नवीकरणको प्रक्रिया अघि बढाएको छ ।प्रदेश सरकारले संशोधित प्रदेश स्वास्थ्य ऐन २०७५ कार्यान्वयन गर्दै स्वास्थ्य संस्थाको दर्ता र नवीकरणको प्रक्रिया विद्युतीय प्रणालीमार्फत् सुरु गरेको हो । मन्त्रालयले ऐन अनुसार अनलाइनबाटै स्वास्थ्य संस्था दर्ता तथा नवीकरण गर्ने कार्य गर्नेगरी प्रविधि तयार गरेको थियो । गत फागुनमा मात्र सुरुवात गरिएको प्रविधिबाट मन्त्रालयले निजी स्वास्थ्य संस्थाहरुको दर्ता तथा नवीकरणको काम अघि बढाएको हो । अनलाइनबाट प्राप्त निवेदनका आधारमा मन्त्रालयले स्वास्थ्य संस्थाको अनुगमन गरेको छ ।

स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमको नेतृत्व टोलीले काठमाडौंको नर्भिक इन्टरनेशनल अस्पतालको अनुगमन गरेको थियो । २ सय शैयाको अस्पताल सञ्चालनको अनुमति रहेको नर्भिकले नवीकरणका लागि अनलाइन मार्फत आवेदन दिएको थियो । सोही आवेदनका आधारमा सचिव डा. गौतमको नेतृत्वको टोलीले अनुगमन गरेको हो । मन्त्रालयद्वारा निर्मित विद्युतीय प्रणालीमार्फत अनुमति, नवीकरणका लागि नर्भिकको आवेदन परेपछि अनुगमन गरिएको मन्त्रालयका सूचना अधिकारी डा. रविन भुषालले जानकारी दिए ।

नर्भिकको वैधानिक व्यवस्था, उपचार सेवा, जनशक्ति व्यवस्थापन, स्वास्थ्य प्रयोगशाला, सङ्क्रमण रोकथाम, विपद् व्यवस्थापन लगायतका मापदण्डहरु निरीक्षण गरेको सूचना अधिकारी भुषालले बताए । टोलीले अस्पतालको भौतिक संरचना, सरसफाइ, बिरामी सेवाप्रणाली तथा स्वास्थ्य सुरक्षा मापदण्डको समेत निरीक्षण गरेको उनले बताए । अनुगमनका क्रममा नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले अस्पतालको हालको सेवा, सञ्चालन प्रक्रिया र आगामी विस्तार योजनाबारे विस्तृत जानकारी गराएका थिए ।

उनले २०२५ भित्र नयाँ अत्याधुनिक भवन निर्माण गरी सेवा विस्तार गर्न लागिरहेका र यसले नेपालको निजी स्वास्थ्यक्षेत्रमा गुणस्तरीय सेवा अझै थप्ने उल्लेख गरे । अनुगमन पछि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गेलालले अनुगमन नियमित प्रक्रिया भएको बताए । स्वास्थ्य संस्थाले निर्धारित मापदण्ड पालना गरे वा नगरेको सुनिश्चित गर्न अनुगमन आवश्यक रहने उनले बताए । अनुगमनपछि मन्त्रालयले दिएको प्रारम्भिक प्रतिक्रियामा अस्पतालको सेवा मापदण्ड सन्तोषजनक रहेको र अनुमति नवीकरण प्रक्रिया सम्बन्धित प्राविधिक मूल्यांकनपछि अघि बढाइने प्रवक्ता डा. गेलालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*