गढीमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन हुने

साझाकुरा
२०८२ बैशाख ९, मंगलवार १०:५२

हेटौंडा- मकवानपुरगढी गाउँपालिकाले विद्यार्थीका लागि पढ्दै कमाउँदै (लर्निङ् बाई अर्निङ्) कार्यक्रम सञ्चालन गर्ने भएको छ ।पालिकाको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक कार्यक्रम अनुसार कृषि विकासअन्तर्गत प्राविधिक विधामा अध्ययन गर्ने विद्यार्थीका लागि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्न लागिएको मकवानपुरगढी गाउँपालिका कृषि शाखाका प्रमुख गोपाल लम्सालले जानकारी दिए । ‘कार्यक्रमका लागि ३ लाख बजेट बिनियोजन गरिएको छ’ उनले भने । प्राविधिक विधा अध्यापन गराउने विद्यालयलाई यो कार्यक्रम सञ्चालन गर्नका लागि चैत २७ गते दोस्रोपटक प्रस्ताव आह्वान गरिएको उनले बताए । पहिलोपटक चैत ४ गते सूचना प्रकाशन गरिएको थियो ।

पालिकाले प्राविधिक विषय (कृषिबाली विज्ञान) अध्ययन गर्ने विद्यार्थी, बाली उत्पादन गर्ने जमिन भएको विद्यालयलाई विशेष प्राथामिकतामा राखेको छ । बिनियोजित बजेट उत्पादन सामग्री, प्रविधि, सिंचाई, यान्त्रिकरण क्षमता अभिवृद्धिलगायत कार्यमा ८० प्रतिशत लगानी गर्ने शाखाप्रमुख लम्सालले जानकारी दिए । आवेदन परेकाबाट उत्कृष्ट प्राविधिक शैक्षिक संस्था छनोट गरी तत्काल कार्यक्रम सुरु गरिने उनले बताए । उत्पादन बिक्रीबाट आएको आम्दानीलाई ‘पढ्दै कमाउँदै’ कोषमा राखेर त्यसलाई ‘सिड मनी’का रुपमा प्रयोग गर्न सकिनेछ ।

त्यसलाई सिड मनिका रुपमा इच्छुक विद्यार्थीले आफ्नो घरमा कृषिखेती गर्न चाहेमा आवश्यक बीउ, मल, प्रविधि लिन सक्ने उनले बताए । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी भविष्यमा उद्यमी, व्यावसायिक, सीपयुक्त एवम् स्वावलम्बी नागरिक उत्पादन गर्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने पालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए ।

गत आर्थिक बर्षदेखि निमित बजेट ब्यवस्थापन गर्दै आएको र यस कार्यक्रमलाई प्रभावकारी रुपमा निरन्तरता दिइने उनको भनाई छ । गत आबमा मकवानपुरगढी–२ मा रहेको बंशगोपाल माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) यसै कार्यक्रमका लागि २ लाख बजेट उपलब्ध गराएको थियो । जसबाट विद्यालयले गड्यौला प्ल्यान्ट निर्माण गरेको थियो । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडेर भविष्यमा स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित संघीय सरकारले यसअघि नै विद्यालय तहमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*