नाबालिक छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ
हेटौंडा- नाबालिक छोरीलाई बलात्कारगरेको आरोपमा मकवानपुरमा आइतबार बेलुका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको थाहा नगरपालिकाकी १३ वर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय पालुङले उनका ३६ वर्षीय बाबुलाई पक्राउ गरेको हो ।जेठी श्रीमतीकी छोरीलाई बाबुले कात्तिक महिनादेखि पटकपटक बलात्कार गर्दै आएका थिए । जेठी श्रीमती छोरी घरमा छोडेर दोस्रो विवाह गरेर गएकी थिइन् ।
बाबुले पटकपटक बलात्कार गरेपछि सहन नसकेर बालिकाले फुपुलाई पीडा सुनाएकी थिइन् । फुपुहरुको सहयोगमा इलाका प्रहरी कार्यालय पालुङमा उनले उजुरी दिएकी थिइन् । उजुरीकै आधारमा बाबुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले बताए ।
यसैगरी, थाहा नगरपालिका–१२ का एक व्यक्तिले गत महिना ८० वर्षीया वृद्धा आमालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय पालुङले दुवै आरोपीलाई हाडनाता बलात्कारमा मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आवको १० महिनामा २२ बालिका बलात्कृत भएका छन् । यस अवधिमा ३८ वटा बलात्कारका घटना भएका छन् ।







