कर नबुझाउने १२२ जना करदातामाथि कारबाही

साझाकुरा
२०८२ बैशाख १०, बुधबार १०:३९

हेटौंडा-आन्तरिक राजस्व कार्यालय मकवानपुरले लामो समयदेखि कर नबुझाउने १२२ जना करदातामाथि कारबाही अघि बढाएको छ ।दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैंक खाता, आयात निर्यात र सम्पत्ति रोक्काका लागि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रमुख करअधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिए । कर नबुझाएका करदाताबाट करिब ६० करोड रुपैयाँभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको कार्यालयले जनाएको छ ।

‘पटकपटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि आलटाल गर्ने करदातामाथि कारबाही अघि बढाएका छौँ’, प्रमुख करअधिकृत सुवेदीले भने, ‘त्यही भएर हामीले करदाताको बैंक खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्काका लागि प्रक्रिया अघि बढाएका छौँ ।’ कानुनी प्रक्रिया अघि बढाएपछि केही करदाता कर बुझाउनसमेत आउने गरेको उनको भनाइ थियो ।

यस्तै, आन्तरिक राजस्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१÷८२ को नौ महिनाको अवधिमा चार अर्ब ८७ करोड ५९ लाख राजस्व संकलन गरेको छ । यो लक्ष्यको ८२ दशमलव ३२ प्रतिशत संकलन भएको हो । कार्यालयप्रमुख सुवेदीका अनुसार चालु आव २०८१÷८२ को नौ महिनाको अवधिमा छ अर्ब चार करोड ५४ लाख ३६ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा चार अर्ब ८७ करोड ५९ लाख छ हजार राजस्व संकलन भएको छ ।

चालु आर्थिक वर्ष २०८१÷८२ मा आठ अर्ब ४४ करोड राजस्व संकलन गर्ने वार्षिक लक्ष्य रहेको प्रमुख सुवेदीले बताए । यो कार्यालयमा आयकरतर्फ ३४ हजार २२९, मूल्य अभिवृद्धितर्फ पाँच हजार ९५३, अन्तशुल्कतर्फ एक हजार ६११, विथहोल्डतर्फ ७१३ र व्यक्तिगततर्फका ८४ हजार ४२९ करदाता रहेका छन् ।पछिल्लो समय मुलुकमा आर्थिक कारोबार बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा सहजता हुनु, कर नीतिमा सुधार हुनु, नियमित बजार अनुगमन, करदाता शिक्षा सञ्चालन तथा बाँकी बक्यौता असुलीमा गरिएको कडाइजस्ता कारणले अघिल्लो आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको यो अवधिमा राजस्व संकलनमा वृद्धि भएको प्रमुख सुवेदीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*