पथलैया–हेटौंडा–भरतपुर सडकखण्ड बिस्तारको लागि सार्वजनिक सुनुवाई
हेटौंडा- पूर्वपश्चिम राजमार्गअन्तर्गत पथलैया– हेटौंडा–नारायणगढ सडकखण्ड बिस्तारको लागि सार्वजनिक सुनुवाइ गरिएको छ । यो सडक स्तरोन्नतिको प्रक्रिया अघि बढेसँगै वातावरणीय प्रभाव मूल्याङ्कन ईआईए प्रतिवेदनको सार्वजनिक सुनुवाइमा सहभागी हेटौंडाका प्रभावितहरुले बाइपास सडक निर्माण गर्न सुझाव दिएका छन् । सुनुवाइमा सहभागी २५ मिटर प्रभावित स्थानीयवासीले बजारको बीचभाग हुँदै सडक लैजान नमिल्ने बताएका थिए । बजार बीच क्षेत्रबाट मुख्य राजमार्ग बिस्तारगरिँदा व्यापारिक गतिविधि, जनजीवन र सहरी संरचनामानकारात्मक असर पर्ने उनीहरुले चेतावनी दिएका छन् ।
उनीहरुले सडक स्तरोन्नति स्वागतयोग्य भए पनि त्यसले समुदायको हितविपरित जान नहुनेमा जोड दिएका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले विकासका काममा नगरलाई अनिर्णयको बन्दी नबनाउन आग्रह गरिन् । मानवताको हिसाबले कसैलाई अन्याय नपर्ने गरी काम गर्ने उनको भनाई थियो । प्रभावितहरुको सही तथ्यांक ल्याउन सडक विभाग आयोजना निर्देशनालय एडिबिलाई उनले आग्रह गरिन् ।
स्थानीयको भावना र सुझावलाई मनन गर्दै अदालतले गरेको फैसलाअनुसार कार्यान्वयनमा जाने नगरप्रमुख लामाले बताइन् । तर, नेपालको पूर्बपश्चिम राजमार्ग ‘एसियन हाइ–वे’ अन्तरगत राखिएका कारण नेपाल सरकारले चाहेर पनि सडकको एलाइन्मेन्ट परिवर्तन गर्न नसकिने बताइएको छ । एसियाली विकास बैंक, वल्र्ड बैंकले एसियन हाइ–वेको रुपमा नेपालको पूर्वपश्चिम राजमार्गलाई बिस्तार गर्न लागेको हो ।
बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले राज्य जिम्मेवार बनेर जानुपर्नेमा जोड दिए । राज्यले प्रक्रियागत ढंगले उचित क्षतिपूर्ति दिएर सडक बिस्तार गर्नुपर्ने उनले बताए । सडक स्तरोन्नतिका क्रममा कुल ६ सय ८८ वटा निजी संरचना प्रत्यक्ष प्रभावित हुने देखिएको छ । आयोजनाको प्रभाव क्षेत्रभित्र कुल एक सय ८० वटा सामुदायिक संरचना रहेका छन् । हेटौंडाको राप्तीदेखि कर्रा पुलसम्म २ सय ८५ घर, हेटौंडा बजारक्षेत्र बाहेकका दुई सय ५ घर र अन्य पालिकाभित्रका एक सय ९८ वटा घर प्रभावित हुने प्रतिवेदनमा उल्लेख छ ।
परियोजनाले पथलैयादेखि हेटौंडा हुँदै भरतपुरको गोन्द्राङसम्म कुल एक सय किलोमिटर सडकस्तरोन्नति गर्ने योजना रहेको बताएको छ । जसको विस्तृत डिजाइन तयार भइसकेको छ । ४ लेनको सडक सुदृढीकरणसँगै साइड ड्रेन, सर्भिस लेन, फुटपाथ तथा यातायात सुरक्षाका अन्य संरचना निर्माण गरिनेछ । सडक विभागको आयोजनामा तीन वर्षभित्र कार्य सम्पन्न गर्ने लक्ष्यराखिएको छ । परियोजनाको कुल लागत करिब ६३ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । सडकको क्षेत्राधिकार केन्द्रबाट दायाबाँया २५÷२५ मिटरको पथलैया–हेटौंडा–नारायणगढ सडकखण्ड पथलैयाबाट सुरु भई भरतपुर गोन्द्राङमा गएर टुगिंन्छ ।







