कैलाश–९ को तीनवटा टोल पूर्णसरसफाई उन्मूख घोषणा
हेटौंडा- मकवानपुरको कैलाश गाउँपालिका–९ को तीनवटा टोललाई पूर्णसरसफाई उन्मूख तथा सुरक्षित खानेपानीयुक्त समूदाय घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले खैरेनी, घैराङटार र जोइटी टोललाई पूर्णसरसफाईउन्मूख तथा सुरक्षित खानेपानीयुक्त समूदाय घोषणा गरेका हुन् । अध्यक्ष मुक्तानले सरसफाई र खानेपानीका सूचकलाई अहिलेमात्र नभई आगामी दिनमा पनि पालना गर्नुपर्ने बताए । ‘स्वास्थ्य र शिक्षासँगै सरसफाई र खानेपानी उत्तिकै महत्व रहेको छ, दीगो विकास लक्ष्यका लागि यी कार्यक्रमको महत्व रहन्छ’ अध्यक्ष मुक्तानले भने । घरपरिवार हुँदै समूदायमा यस अभियानले सकरात्मक पक्ष रहनुका साथै गाउँपालिकाले विभिन्न संघसंस्थासँग साझेदारीमा कार्यक्रमहरु सञ्चालन गरिने उनले बताए ।
सरसफाईमा महिला दिदीबहिनीको ठूलो हात रहन्छ, यस अभियानका सूचकमा आगामी दिनमा टोलबासीले नै ध्यान दिनुपर्ने जरुरी रहेको अध्यक्ष मुक्तानले बताए ।रोगव्यादीबाट बच्नुका साथै स्वस्थ्य जीवनयापनका लागि सफा पानी र सरसफाई अनिवार्य रहेको गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले बताए । ‘एक घर एक धारा’ अभियानलाई सार्थकता दिन गाउँपालिकाले खानेपानी र सरसफाईका क्षेत्रमा साझेदारी गरी कार्यक्रम गर्दै आइरहेको उनले बताए । घोषणा पश्चात आगामी दिनमा पनि सूचकलाई पूर्णरुपमा पालना गर्न सम्बन्धित समूह र टोलबासीलाई उनले आग्रह गरे ।
यस अभियानमा आरआरएन, सिडिपिएन, डब्लुडब्लुएच, प्रेम सेवा समाजलगायत विभिन्न संस्थासँग गाउँपालिकाले साझेदारीमा खानेपानी र सरसफाईका साथै शिक्षाक्षेत्रमा काम गरिरहेको छ । घोषणाका लागि पाँचवटा सूचक र २३ वटा उपसूचकमा रहेर काम गरिएको आरआरएनका प्रशासन अधिकृत धर्मराज उपाध्यायले बताए । कार्यक्रममा तीनवटा टोललाई घोषणापश्चात प्रमाणपत्र प्रदान गरिएको थियो ।
वडा नम्बर ९ का वडाध्यक्ष भूवनसिं घलानको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष सूर्यबहादुर ब्लोन, कार्यपालिका सदस्य गोरीमाया भुलुन, वडासदस्य ज्ञानबहादुर घलान, आरआरएनका प्रशासन अधिकृत उपाध्याय, प्रेम सेवा समाजका कार्यक्रम संयोजक उद्धव चेपाङ, नामटार स्वास्थ्यचौकीका प्रमुख अमित श्रेष्ठलगायत सहकारी, विद्यालय, सुरक्षा निकायका प्रतिनिधिको आतिथ्यता रहेको थियो ।







