२२ वटा गोरु प्रहरी नियन्त्रणमा
हेटौंडा- अवैध रुपमा ढुवानी गरी ल्याइएको भन्दै मकवानपुर प्रहरीले २२ वटा गोरुसहितको ट्रक र ट्रकमा सवार चारजनालाई नियन्त्रणमा लिएको छ । गोरु ब्यवसायीले भने राज्यलाई तिर्नुपर्ने कर तथा राजश्व तिरेर यिमसंगत रुपमा ल्याइएको बताएका छन् ।बुधबार विहान ६ः३० बजेको समयमा प्रहरीचौकी बसामाडी लेवटबाट खटिएको प्रहरीटोलीले विशेष सूचनाको आधारमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख ३४११ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा भेटेनरी कागज नभएका, अवैध ढुुवानी गरी ल्याइएको भन्दै २२ वटा गोरुलाई नियन्त्रणमा लिएको बताइएको छ । गोरु बोक्ने ट्रक चालक धादिङको सिद्धलेक गाउँपालिका–२ बस्ने वर्ष २६ का गणेश मगर, गोरखाको अजिरकोट गाउँपालिका–४ बस्ने २५ वर्षीय सुचज परियार, सोहीस्थान बस्ने २४ वर्षीय कुशल परियार र सुनसरीका ५६ वर्षीय जीतु यादवलाई पक्राउ गरिएकोे प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला पशुसेवा कार्यालय पठाइएको प्रहरीले जनाएको छ । गाईगोरुका ब्यवसायीका अनुसार ट्रकमा ल्याइएका गाइगोरुको क्वारेन्टाइन प्रमाणपत्र पनि साथमा रहेको र भिसिटिएस गरी अनलाईन राजश्व पनि तिरिएको थियो । तर, प्रहरीले यसलाई अनाधिकृत मानेर पक्राउ गरेको ब्यवसायीको आरोप छ । पशुचौपाय ब्यवसाय गर्न राज्यले तोकेको मापदण्ड पालना गर्दा पनि प्रहरी प्रशासनले दुःख दिने गरेको ब्यवसायीले गुनासो गरेका छन् । यसअघि मंगलबारमात्र हेटौंडा हुँदै वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख १२२० नम्बरको आइचर ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले ८ वटा गाई र ७ वटा गोरुसहितको ट्रक नियन्त्रणमा लिएको थियो भने ट्रक चालक फरार भएका थिए ।







