साहित्य संगमको विधान संशोधन, कार्यकाल ३ वर्षको हुने

साझाकुरा
२०८२ बैशाख १५, सोमबार १०:४०

हेटौंडा- साहित्य संगम मकवानपुरको कार्यसमितिको कार्यकाल ३ वर्षको हुने गरी बिधान संशोधन भएको छ ।संगमले विशेष साधारण सभाको आयोजना गरी विधान संशोधन गरेको हो । संशोधित विधानअनुसार अब संगमको कार्यकाल ३ वर्षको हुने संगमका अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए । २ वर्षे कार्यकाल छोटो भएको ठहर गर्दै संगमले कार्यकाल तीनवर्षे बनाएको अध्यक्ष बर्तौलाले बताए । यसैगरी संगमले लगातार दुई कार्यकाल मात्रै अध्यक्ष हुन पाउने व्यवस्था गरेको छ ।

कार्यसमिति सदस्य, पदाधिकारी भएपछि मात्रै अध्यक्ष हुन पाउने व्यवस्था गरिएको छ । संगममा बालसदस्य रहने व्यवस्था समावेश गरिएको छ भने १८ वर्षमाथिका सदस्यले मात्रै निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था गरिएको अध्यक्ष बर्तौलाले जानकारी दिए । विधान संशोधनका लागि साहित्य संगमले अधिवक्तातथा साहित्यकार ऋषि केबीको संयोजकत्वमा राजकुमार लामिछाने, दीपक गौतम र छवि अनित्य सदस्य रहेको समिति नै बनाएको थियो ।

साहित्य संगम मकवानपुरले बैशाख १९ गते प्रगतिवादी सर्जक एवम् गायक जीवन शर्मालाई सम्मान गर्ने भएको छ । प्रगतिवादी लेखक श्यामप्रसाद शर्माको स्मृतिमा शर्मालाई नगद २५ हजार रुपैयाँसहित सम्मान गर्न लागिएको संगमका सचिव मनोज पोखरेलले जानकारी दिए । साहित्य संगम मकवानपुरको आयोजना तथा हेटौंडा–४ नम्बर वडा कार्यालयको प्रवद्र्धनमा कार्यक्रम हुन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*