फरक क्षमता भएका व्यक्तिलाई ह्विलचियर वितरण
हेटौंडा- लाईन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपालअन्तर्गतको लाईन्स क्लब अफ काठमाडौँ टेम्पल गणेशले मकवानपुरका फरक क्षमता भएका तीन व्यक्तिलाई ह्विलचियर प्रदान गरेको छ ।हेटौंडा उपमहानगरपालिका–४ को सभाहलमा आयोजित कार्यक्रममा क्लब अध्यक्ष लाएन सुमन खरेल शर्माको अध्यक्षता तथा ४ नं. वडाअध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा ह्विलचियर वितरण गरिएको हो । क्लबले हेटौंडा उपमहानगरपालिका–१३ की पातली माया मुक्तान, भीमफेदी गाउँपालिका–६ का कान्तराज थिके र भीमफेदी गाउँपालिका–३ का योगान्त वाइबालाई ह्विलचियर प्रदान गरिएको हो ।
कार्यक्रममा डिस्ट्रिक्ट क्लस्टर चीफ लाएन्स अनिता थापा बिष्ट, डीजी कार्यक्रम अध्यक्ष लाएन कमला गुरुङ प्रधान, कोषाध्यक्ष लाएन भानु थापा, जेसीआई हेटौंडा लेडीकी अध्यक्ष दिलु घर्ती मगरलगायतको उपस्थिति रहेको थियो ।ह्विलचियर वितरण कार्यक्रम जेसीआई हेटौंडा लेडीकी अध्यक्ष घर्तीमगरको पहलमा सम्पन्न भएको हो । प्रमुखअतिथि वडाअध्यक्ष सिग्देलले लाएन्स क्लबले जिम्मेवारी पूर्वक नेतृत्व गर्दै समाजसेवामा सक्रिय भूमिका खेलेको उल्लेख गर्दै, लाभग्राहीले प्रदान गरिएको सामग्रीको उचित सदुपयोग गर्नुपर्नेमा जोड दिए । क्लबका अनुसार फरक क्षमता भएका व्यक्तिको सहज आवागमनमा सहयोग पु¥याउने उद्देश्यले तीन थान ह्विलचियर प्रदान गरिएको हो ।







