हेटौंडा उपमहानगरपालिकामा किशोरी संवाद कार्यक्रम
हेटौंडा- हेटौंडा उपमहानगरपालिकाभित्र रहेका संस्थागत विद्यालयका किशोरीसँग संवाद भएको छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नारासाथ उपमहानगरपालिका महिला, बालबालिका तथा समावेशीकरण महाशाखाको आयोजनामा कार्यक्रम भएको हो । नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता एवम् उपमहानगरस्तरीय बालसमूह सञ्जाल कोषाध्यक्ष आदित्य पराजुलीको समाध्यक्षतामा कार्यक्रम भएकोहो । मकवानपुरमा रहेका विभिन्न निजी विद्यालयका करिब एक सय ५० किशोरीको उपस्थितिमा कार्यक्रम भएको थियो ।
नगरप्रमुख लामाले अब छोरीले देश हाक्ने बताउँदै ‘माइरेड’ नामक पुस्तकबाट रजस्वलासम्बन्धी अंश वाचनसहित छोरीहरु किशोरावस्थामा सक्षम भइसकेको महसुस भएको बताइन् । रजस्वलाका विषयमा अभिभावकसँग कार्यक्रम गर्ने उनको प्रतिबद्धता छ । नगरप्रमुख लामाले रजस्वलासम्बन्धी कुराकानी गर्न अभिभावकलाई आग्रह गरिन् । ‘सबभन्दा पहिले उनलाई किशोर अवस्थाबारे सिकाउनुपर्छ । उनलाई यसबारे गलत जानकारी त छैन भन्ने कुरामा सचेत हुनुपर्छ,’ उनले भनिन् ।
नगरप्रमुख लामाले भोलिका दिनमा किशोरीले भोग्न सक्ने समस्याबारे सचेत रहनुपर्ने र आवश्यक सतर्कता अपनाउनुपर्ने सुझाव दिइन् । कार्यक्रममा किशोरीले स्थानीय सरकारले
किशोरीको लागि केकस्ता कार्यक्रम गरेको छ, कसरी सहभागी हुन सकिन्छ ? किशोरीमात्र सतर्क हुने कि किशोरलाई पनि किशोरीको सम्मान गर्न सिकाउने ? नगरका किशोरी ढुक्कसँग हिडनसक्ने शान्तिपूर्ण वातावरण विकास, प्याडको व्यवस्था, किशोरीहरु आमा बन्ने कुरा कसरी रोकिन्छ, आफ्नै घरमा पनि किशोरी सुरक्षित नभएको अबस्थामा नगरपालिकाले के गर्छ जस्ता जिज्ञासा राखेका थिए ।
कार्यक्रममा हेटौंडा–२ का वडाअध्यक्ष विष्णुगोपाल महर्जन, जिल्ला समन्वय अधिकारी शान्ति बिश्वकर्मा, बीना थिङ, अधिकृत गोपिनी गौतमलगायत विद्यालयका शिक्षकको सहभागिता थियो । किशोरी संवाद कार्यक्रममा सामुदायिक विद्यालय ४ वटा र निजी विद्यालयबाट ९ जना बोलाइएकोमा सामुदायिक विद्यालयबाट आधुनिक राष्ट्रिय माकिो मात्र उपस्थिति थियो ।
निजी सबै विद्यालयबाट उपस्थित हुँदा सामुदायिक ४ वटाबाट बोलाउँदा पनि उपस्थित गराउन नसकिएको जानकारी दिइएको छ । बालजागृति सेकेण्डरी ई. बोर्डिङ मावि, शिक्षाविकास शिशुसदन, नवोदय शिशुसदन, व्रह्मदिक, जीएस निकेतन, सिद्धार्थ शिशुसदन, जेनिथ, तासिरका विद्यार्थीको उपस्थिति थियो । हेटौंडा उपमहानगर महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु लामिछानेले किशोरीले ध्यान दिनुपर्ने कुराबारे प्रस्तुतिकरण दिएकी थिइन् ।







