मनहरीको आमाघर पुगेर सरकारी कार्यालयका प्रमुखले औंशी मनाए

साझाकुरा
२०८२ बैशाख १६, मंगलवार १०:४१

हेटौंडा- मकवानपुरमा रहेर सरकारी कार्यालयको नेतृत्व गरिरहेका कार्यालय प्रमुखहरुले आमाखुवाउने औंशी आमाघरमा रहेका आमाहरुसँगै मनाएका छन् ।जिल्ला अदालत मकवानपुरका न्यायधीश अवनी मैनाली भट्टराई, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, न्यायधीश पूर्णिमा कोईराला, जिल्ला समन्वय अधिकारी शान्ति विश्वकर्मा, जिल्ला अदालतका श्रेस्तेदार रोशी भण्डारी मनहरीको आमाघर पुगेका हुन् । मातृशक्ति सम्मान कार्यक्रममा बोल्दै प्रमुखअतिथि न्यायधीश भट्टराईले आमाहरुको संरक्षण गरेर आमाघरले समाजमा नमूना प्रस्तुत गरेको बताइन् । आमाहरुको सेवाकार्यमा लाग्नेहरुबाट समाजले पनि केही सिक्नुपर्ने उनको धारणा थियो ।

कार्यक्रमको विशिष्ट अतिथि प्रमुख जिल्ला अघिकारी श्रेष्ठले आमाघरले आमा संरक्षण गरेर सरकारलाई सहयोग गरिरहेको बताइन् । संविधानमा आबासको हक, स्वास्थ्यको हक, सम्मानपूर्वक बांँच्न पाउने हकको ब्यबस्था गरिए पनि सरकारसँगको सीमित बजेटका कारण राज्यले यस्ता आवासगृह संचालन गर्न नसकेको उनले बताइन् । कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले अतिथिलाई दोसल्ला ओढाई सम्मान गरेका थिए । आमाघरको संरक्षक रेबती दिदीको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थाका बिजय भाइजीले आमन्त्रित अतिथिलाई ध्यान साधना समेत गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*