मनहरीमा सार्वजनिक जग्गामा बनाइएका घरटहरा भत्काइयो
हेटौंडा- पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–७ र ८ जोड्ने पक्की पुल बनाउँदा खारेज गरिएको पूर्वपश्चिम राजमार्गको जग्गा मिचेर बनाइएका १३ वटा घरटहरा भत्काइएको छ । मनहरी गाउँपालिका कार्यपालिका बैठकको निर्णयबमोजिम वडा ७ पुरानो बजारमा भएको सार्वजनिक जग्गा अतिक्रमणबारे सार्वजनिक सूचना जारी गरी घरटहरा भत्काउने क्रम सुरु भएको हो । कतिपय स्वयम् घरधनीले र कतिपय संरचना वडा कार्यालयले मेसिन प्रयोग गरी भत्काइएको ७ नं वडाध्यक्ष ठाकुरराम तितुङले बताए । पुरानो बजारक्षेत्रमा झण्डै ७० वटा घरटहरा रहेका छन् ।
तत्कालीन पूर्वपश्चिम राजमार्ग निर्माण गर्दा मनहरी खोलामा पक्की पुल बन्नुअघि दक्षिणतर्फ स्ल्याब ढलान बनाएर सवारी साधनहरु तार्ने प्रबन्ध गरिएको थियो । पछि पक्की पुल निर्माण भएपछि स्ल्याब ढलान क्षेत्र भएर जाने पुरानो बाटो बेवारिसे बन्दै गर्दा अतिक्रमण भएको हो । अतिक्रमण गरेर बनाइएको घर टहरालाई नक्सा बमोजिम खोजी गरी सफाइ गरिएको र तत्कालै बाटो खण्डमा नाला निर्माणसहित बगैँचा र सिमेन्टका टायल हाल्ने गरी बजेट व्यवस्थापन गरिएको वडाध्यक्ष तितुङले बताए ।
यो कार्यका लागि सहरी विकास मन्त्रालयबाट १ करोड विनियोजन भएको र यो बजेट ठेक्का प्रक्रियामार्फत कार्यान्वयनको क्रममा रहेको उनले जानकारी दिए । ‘हामीले अतिक्रमण हटाएर साइड क्लियर गरेका छौं’, वडाध्यक्ष तितुङले भने, ‘अब ठेकेदारले सुन्दर सडक बनाउने छ ।’







