सरकार बिचौलियाहरुको हितमा निर्भर रहेको टिप्पणी

साझाकुरा
२०८२ बैशाख १७, बुधबार १२:०३

हेटौंडा- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले दलबिहीनहरुले गलत मनसाय सहित राजनीतिक दल खत्तम भन्ने भाष्य स्थापित गर्ने कोशिस गरिरहेको बताएका छन् । दलहरुका विकल्प हुन्छन्, निर्विकल्प छैनन् यसैले सबै गलत भन्ने भाष्यबाट मुलुकलाई बचाएर लैजाउनु पर्ने नेता बस्नेतको भनाई छ । मंगलबार हेटौंडाको बस्तीपुरमा आयोजित नेपाल शैक्षिक स्वयंसेवी संगठनको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता बस्नेतले भने, ‘राजनीतिक दल र लोकतन्त्र आपसमा अन्तर सम्बन्धित छन् । दलहरु कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो । यसैले पनि यसबाट सचेत हुदै दलभित्रका कमजोरीलाई स्वीकार्दै, सच्याउककदै अगाडि बढ्नु पर्छ ।’

नेता बस्नेतले सरकार बिचौलियाहरुको हितमा निर्भर रहेको टिप्पणी गरेका छन् । सरकारबाट एमालेले फाइदा लिने कि काग्रेसले लिने ? भन्ने गलत किसिमको होडबाजी चलिरहेको नेता बस्नेतले दाबी गरेका छन् । त्यसैगरी सम्मेलनलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् खेलकुद महासंघका फ्याक्सन ईन्चार्ज दीपक कोईरालाले शैक्षिक स्वयंसेवीहरुले आफूलाई समाजवादी सेनाको रुपमा विकास गर्नुपर्ने बताए ।

बागमती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री कुमारी मोक्तानले समाजवाद र सुशासनको बाहक संगठनको रुपमा सम्मेलनले निर्देशित गर्ने विश्वास व्यक्त गरिन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर ईन्चार्ज विजय गौतमले विचारबिहीन युवा लगामबिनाको घोडाजस्तै भएकोले युवालाई सहि विचार र दृष्टिकोणयुक्त बनाउन सम्मेलन फलदायी हुने बताए ।

नेपाल शैक्षिक स्वयम्सेवी संगठनको प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिका अध्यक्ष केशव महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी, मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, जिल्ला सचिव बीरबहादुर घलानलगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । सम्मेलनले केशव महर्जनको अध्यक्षतामा २७ सदस्यीय समिति निर्वाचित गरेको छ ।

जसको उपाध्यक्षमा बबिता कटुवाल, किरण गिरी, टेकबहादुर थापा, महासचिवमा भीमराज खड्का, सचिवमा सीता नेपाली, शिवकुमार त्वत, बिकेन्द्र महर्जन, उपेन्द्र घिमिरे, ईश्वर लामिछाने, भूमिका मगर, कोषाध्यक्षमा दामोदर बस्नेत लगायत निर्वाचित गरेको छ । सम्मेलनमा देशभरबाट करिब १०० जना प्रतिनिधि सहभागी भएको संगठनका बागमती प्रदेश अध्यक्ष ईश्वर लामिछानेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*