राक्सीराङमा ‘भाटी थुम्कीको लिफ्टिङ प्रणाली’को शुभारम्भ

सन् २०३० सम्म सबै जिल्लामा खानेपानी पु¥याउने प्रदेशको लक्ष्यः मन्त्री खड्का
साझाकुरा
२०८२ बैशाख १८, बिहीबार ११:४०

हेटौंडा- मकवानपुरको राक्सिराङ गाँउपालिकाको वडा नं १, २ र ३ का जनताले खानेपानीको सुविधा प्राप्त गर्ने भएका छन् । बुधबार राक्सिराङ–२, भाटीमा ‘भाटी थुम्कीको लिफ्टिङ प्रणाली’ को शुभारम्भ भएसँगै स्थानीयले खानेपानीको सुविधा प्राप्त गरेका हुन् । भाटी थुम्की स्कीम नं २ खानेपानी योजना उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री श्यामबहादुर खड्काले खानेपानीको धारा खोलेर उद्घाटन गरेका हुन् ।

खानेपानीको उद्घाटन पश्चात् खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष रुद्रबहादुर पिठाकोठीको सभाध्यक्षतामा आयोजित एक औपचारिक कार्यक्रममा खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालयका प्रमुख सचिव मोहनकुमार शाक्य, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, मन्त्रीका राजनीतिक सल्लाहकारराजेन्द्र श्रेष्ठ, खानेपानी कार्यालयका डिभिजन प्रमुख रविन श्रेष्ठ, राक्सिराङ गाउँपालिका उपाध्यक्ष वनस्तम थिङ, इन्जिनियरद्वय सुस्मिता लामिछाने र अस्विन पौडेल, राक्सिरा– गाँउपालिका वडा नं २ अध्यक्ष बुद्धराम मोक्तानलगायत उपभोक्ताको सहभागिता रहेको थियो ।

कार्यक्रममा मन्त्री खड्काले स्थानीय सरकार जनताको सम्पूर्ण आवश्यकता पूरा गर्न लागिपरेको बताउँदै विकास आवश्यकताका आधारमा प्राथमिकिकरण गर्दै लैजाँदा सहज हुने बताएका छन् । ‘खानेपानी जनताको मौलिकअधिकार हो र सन् २०३० सम्म बागमती प्रदेशका सबै जिल्लामा शतप्रतिशत पानी पु¥याउने लक्ष्य लिएका छौँ’, मन्त्री खड्काले भने, ’सरकारले पानी व्यवस्था गरिदिन्छ तर, त्यसको सम्भार जनताले गर्नुपर्छ ।’ आफूले पाएको सुविधालाई दिगो बनाउनका निमित्त जनताले पनि हातेमालो गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा राक्सिराङ विशेष खानेपानी योजनाअन्तर्गत स्किम नं २ को शुभारम्भ भएको हो । जसअन्र्तगत ३ वटा ट्याङ्की, पम्प हाउस र कार्यालय रहेको ३ वटा भवन रहेको छ भने विद्युतीय कार्यअन्तर्गत लिफ्टिङ कार्य सफलतापूर्वक सम्पन्न भएको छ । साढे ४ करोड रुपैयाँ लागत अनुमान गरिएको योजना हाल सम्पन्न हुँदा झण्डै ३ करोड खर्च भएको छ । हाल पानी वितरण कार्य सुरु हुँदा १०० वटा धारा वितरण गरिएको छ भने यसबाट राक्सिराङ गाउँपालिका वडा नं १,२,३ का ६५० घरधुरी लाभान्वित हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*