आँगनमा कुखुरा आएको भन्दै छोराले बाबुलाई बन्दुक हानेपछि…
हेटौंडा- मकवानपुर त्रिभुवन राजपथको अघोरमा एक युवकले आफ्नै बुबामाथि गोली प्रहार गरेका छन् ।प्रहरीका अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरका ५९ वर्षीय कान्छाराम थिङलाई बुधबार उनकै छोरा ३५ वर्षीय इमानसिंह थिङले गोली प्रहार गरेका हुन् । छोरा इमानले भरुवा बन्दुकले गोली प्रहार गर्दा बुबा कान्छाराम घाइते भएका छन् । प्रहरीकाअनुसार बाबु र छोरा अलगअलग बस्दै आए पनि उनीहरुले प्रयोग गर्ने आँगन साझा थियो ।
बुबामाथि गोलो हान्ने इमानलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनको साथबाट एकनाले भरुवा बन्दुकबरामद भएको मकवानपुरका प्रहरीप्रवक्ता श्यामु अर्यालले बताएका छन् । उनले अनुमतिविना बन्दुक राखेको पाइएको छ । प्रहरीका अनुसार कान्छारामको बायाँ खुट्टाको तिख्रा र दाहिने हातमा गोलीको छर्रा लागेको छ । उनको अवस्था सामान्य रहेको र उनलाई उपचारका लागि हेटौंडा ल्याइएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार कुखुरा आँगनमा आएको विषयमा बाबु–छोराबीच विवाद हुँदा बुबामाथि छोराले गोली हानेको देखिन्छ । घटनाबारे
थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सन्तबहादुर श्रेष्ठको कमान्डमा टोली खटिएको प्रहरीले जनाएको छ ।







