अन्तर्राष्ट्रिय श्रमिक दिवसको हेटौंडामा प्रभातफेरी
हेटौंडा-१ सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको हेटौंडामा प्रभातफेरी निकालिएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आयोजनामा हेटौंडामा प्रभातफेरी निकालेको हो । हेटौंडाको फरेष्ट्री गेटबाट निकालिएको प्रभातफेरीले हेटौंडा बजार परिक्रमा गरेको थियो । प्रभातफेरीमा नेकपा एमालेका नेता, नेकपा एमाले सम्वद्ध विभिन्न घटक तथा जनसंगठनका नेता, पदाधिकारी तथा कार्यकर्ताको सहभागिता रहेको थियो । प्रभातफेरीले नगरपरिक्रमा गरेपछि हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेस पुगेर सभामा परिणत भएको थियो । जिफन्ट मकवानपुर जिल्ला समन्वय कमिटीका अध्यक्ष शम्भु लामाको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
श्रमिकहरुको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रुपमा हरेक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यो दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हक अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दवाब दिने उद्देश्यले मनाउँदै आएका छन् । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिन्छ । नेपालको विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको थियो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसका दिन सार्वजनिक बिदा दिन थालिएको हो । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको थियो ।







