पालिकाभित्रै खानेपानी बोर्ड स्थापना गर्नुपर्छः उपाध्यक्ष डा.नेपाल
हेटौंडा-प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गंगादत्त नेपालले पालिकाभित्र नै खानेपानी बोर्ड स्थापना गर्नुपर्ने बताएका छन् ।अब स्थानीय तहमा नै खानेपानी बोर्ड स्थापना गरी खानेपानी तथा सरसफाईको काम गरिनुपर्ने उनको भनाई छ । आइतबार हेटौंडामा खानेपानी, सरसफाई तथा स्वच्छता सुशासन सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उपाध्यक्ष डा.नेपालले बोर्ड स्थापना गरी खानेपानी तथा सरसफाइको काम गरिनुपर्ने जिकिर गरे । ‘उपभोक्ता समिति त छदैँछ अब नीति तथा कार्यक्रममा समेट्दै बोर्ड स्थापना गर्नुपर्छ’ उनले भने ।
आफू पनि विगतमा खानेपानी र सरसफाईको क्षेत्रमा लामो समय बिताएकाले यसक्षेत्रको विकासलाई नजिकबाट नियाल्दै आइरहेको उपाध्यक्ष नेपालले बताए । सुरक्षित खानेपानी र सरसफाईलाई सुनिश्चिता गर्न सुरुमा पूर्ण खुलादिशामुक्त अभियान गरिनुपर्ने उनको भनाई छ । यसक्षेत्रमा काम गर्दा दीगोपनतर्फ उन्मुख भएर जानुपर्ने बताउँदै उनले दीगोविकास लक्ष्य हासिल गर्ने उद्देश्यले क्रियाकलाप गरिनुपर्ने बताए ।
खानेपानी र सफाइको क्षेत्रमा काम गरी दीगो विकास हासिल गर्न अग्रसर रहनुपर्ने गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश अध्यक्ष कर्णबहादुर थापामगरले बताए । ‘अन्य विकासको कार्य सँगसँगै खानेपानी, सरसफाई तथा स्वच्छतामा पनि न्यायोचित ढंगले काम गर्नुपर्छ,’ उनले भने, ‘बागमती प्रदेशभित्र ७४ वटा गाउँपालिका छ, महासंघले खानेपानी सरसफाईको क्षेत्रमा नीतिगत सहयोग र स्रोतको परिचालनमा आवश्यक पैरवी गर्दै आइरहेको छ ।’
उनले जनप्रतिनिधिमा शिक्षा र क्षमता कम रहेकाले पनि कर्मचारीसँग तालमेल नमिलेको अवस्थाले जनप्रतिनिधिलाई आवश्यक क्षमता अभिवृद्धिका लागि समयसापेक्ष तालिम आवश्यक रहेको बताए । संघीयता बलियो बनाउन वडा, पालिका हुँदै प्रदेशलाई बलियो बनाउनु पर्ने उनले जोड दिए । भौगोलिक विकटतासँगै चेपाङ र तामाङ समूदायको बाहुल्यता रहेको मकवानपुरका राक्सिराङ र कैलाशका नागरिकमा व्यवहार परिवर्तन ल्याउन सके सुरक्षित खानेपानी र सरसफाई क्षेत्रमा परिवर्तन ल्याउन सकिने कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए ।
समूदायमा समूह निर्माण गरी दीगोपना कायम गर्ने, खानेपानी र सरसफाइको क्षेत्रमा काम भइरहेको उनले बताए । ‘कैलाशमा आरआरएनसँग सहकार्य जारी रहिरहेको बेला हामीले वाइन टु वाटरसँग खानेपानीको क्षेत्रमा काम गर्न सम्झौता गरिसकेका छौं’ अध्यक्ष मुक्तानले भने । गाउँपालिकामा ऐन निर्माण भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा दीगो विकास लक्ष्य २०३० पुरा गर्न तीन तहको सरकारसँगको सहकार्यमा काम गर्दै अघि बढिरहेको उनले बताए ।
राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको दुईदिने कार्यशाला गोष्ठीमा गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश अध्यक्ष कर्णबहादुर थापामगर, महासंघ केन्द्रीय सदस्य एवम् कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, कैलाश गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, राक्सिराङका उपाध्यक्ष बनस्तम थिङ, कैलाश गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, राक्सिराङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेत, खानेपानी तथा सरसफाइ उपभोक्ता राष्ट्रिय महासंघ प्रदेश अध्यक्ष बद्रीप्रसाद देवकोटा, हेटौंडा खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्ट, आरआरएनका कार्यक्रम व्यवस्थापक नीराजन पोखरेल, डब्लुडब्लुएचका वासविज्ञ विजु डंगोल, गाउँपालिका राष्ट्रिय महासंघका समन्वय अधिकृत रुपेश दुलालको आतिथ्यता रहेको थियो । कार्यक्रममा राक्सिराङ र कैलाशका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखाप्रमुखहरुको सहभागिता छ ।







