सडक दबेर हराएको गाडी खोज्न भूगर्भ विभागसँग समन्वय गरिने

साझाकुरा
२०८२ बैशाख २२, सोमबार ०८:०१

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१७ गैरीगाउँमा शुक्रबार साँझदेखि हराएको बोलेरो गाडी खोजीकार्यलाई प्रभावकारी बनाउन हेटौंडा उपमहानगरपालिकाले खानी तथा भूगर्भ विभागसँग समन्वय गर्ने निर्णय गरेको छ । आइतबार हेटौंडा उपमहानगरपालिकामा बसेको सरोकारवाला निकायबीचको बैठकले घटनास्थल कमजोर संरचनाको भएकाले भूगर्भ विशेषज्ञको प्राविधिक सहयोग लिने निर्णय गरेको हो । घटनास्थल भूगर्भीय हिसाबले असुरक्षित देखिएकाले प्राविधिक सहयोगका लागि विभागलाई पत्राचार गर्ने निर्णय गरिएको उपमहानगर प्रवक्ता सबिन न्यौपानेले बताएका छन् । माछाको दाना लिन हेटौंडा जाँदै गरेको ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी भित्री कच्चीसडकमा अचानक
माटो भासिएर तीन दिनदेखि हराइरहेको छ ।

माछापालनका लागि निर्माण गरिएको पोखरी र पानीको बोरिङ नजिकै भएकाले जमिन कमजोर बनेको कारण माटो भासिएको अनुमान गरिएको छ । शनिबार दिनभर बाँस र रड गाडेर गाडी खोज्ने प्रयास गरेपनि गाडीको अवस्था थाहा हुन नसकेको स्थानीयले बताएका छन् । मानवसुरक्षाका दृष्टिले समेत संवेदनशील मानिएको यो स्थान वरपर सर्वसाधारणको आवागमन रोक्न नगरप्रहरी परिचालन गरिएको नगरप्रवक्ता न्यौपानेले बताए ।

गाडी भासिएको सडकको दायाँबायाँ माछापालनका पोखरी छन् । त्यो सडककै छेउमा पानी तान्ने बोरिङ खनिएको छ । बोरिङ सवारीधनी हरिराम राईले माछा पोखरीमा पानी हाल्ने प्रयोजनका लागि खनेका थिए । त्यही बोरिङसँगै सडक भासिएर गाडी हराएको हो । गाडी धसिँदै भित्र छिर्न थालेपछि डोरीले गाडी तान्ने प्रयास गरेका व्यक्तिले बोरिङमा गाडी छिरेको बताएको भिडियोमा सुनिन्छ ।

स्थानीयका अनुसार अहिले बाटो रहेको र दायाँबायाँ पोखरी बनेको ठाउँ पहिले दलदल थियो । त्यो दलदलमा स्थानीयका हलगोरु हराउने घटना पनि बिगतमा भएका थिए । जमिन भासिएको ठाउँ पर्ने हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइराला भन्छन्, ‘अहिले ठ्याक्कै मिति त थाहा छैन तर, हामी सानै छँदा ७–८ हल गोरु धसिएको भनेर बुढापाकाले भनेका छन् । म अलि ठूलो भएपछि पनि एक हलगोरु धसिएर जमिन मुनि नै हराएको सम्झना छ ।’

उनका अनुसार केही वर्षयता भने जमिन सुक्खा भएर साह्रो भएको थियो । त्यसैले त्यहाँ बाटो पनि बनाइयो । ‘अहिले दलदल छैन, सुकेर जमिन साह्रो छ । त्यही भएर मेरो पहिलो कार्यकालमा त्यहाँ ६÷७ वर्ष अगाडि बाटो बनाइएको हो,’ वडाध्यक्ष कोइरालाले भने, ‘अहिले त्यही बाटोमा गाडी धसिएर जमिन मुनि हरायो ।’ जमिनमा गाडी हराएको खवर सुनेर हेर्न जानेको भीड लागेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*