डिजिटल प्रबिधिमा जाने तयारीमा ट्रक ब्यवसायी
हेटौंडा- नेपाल ट्रक यातायात व्यवसायी महासंघले ट्रक ढुवानीक्षेत्रमा डिजिटलप्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले विशेष प्रशिक्षण कार्यक्रम गरेको छ । सर्लाहीदेखि पूर्वका विभिन्न ट्रक व्यवसायी संघसंस्थाका पदाधिकारीसहित १०० भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा ढुवानीक्षेत्रमा डिजिटल प्रविधिको प्रभावकारी प्रयोगबारे जानकारी दिइएको हो ।
महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँका अनुसार कार्यक्रममार्फत् सहभागीलाई क्युआर कोडमार्फत ट्रक ट्रयाकिङ, जीपीएस, अनलाइन भुक्तानी प्रणाली, कागजात व्यवस्थापन, ट्रक सञ्चालन, मर्मतसम्भार, ग्राहकसेवा, लोड–अनलोड व्यवस्थापन तथा वास्तविक समय निगरानीका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।हाल देशभर २१ वटा धर्मकाँटा सञ्चालनमा रहेको र सबै धर्मकाटालाई क्रमशः डिजिटल बनाउने प्रक्रिया अघि बढाइएको जानकारी दिइएको छ ।
डिजिटलाइजेशन पछि ट्रकहरुको ओभरलोड नियन्त्रण, डेटा सुरक्षित राख्ने तथा ढुवानी प्रक्रिया पारदर्शी बनाउने लक्ष्य रहेको बताइएको छ । कार्यक्रममा महासंघका अध्यक्ष हीरालाल श्रेष्ठले ओभरलोडका कारण सडक तथा राष्ट्रिय संरचनामा भइरहेको क्षतिको उल्लेख गर्दै यस्ता समस्या समाधान गर्न नियमनकारी निकायको संयोजनमा आगामी दिनमा थप कार्यक्रम आयोजना गरिने जानकारी दिए ।
महासंघले ट्रक ढुवानीमा देखिँदै आएको सिन्डिकेट अन्त्य गर्न डिजिटल प्रणालीलाई विकल्पकारुपमा अघि सार्दै लोड बोर्ड एप तयार भइसकेको जनाएको छ । ढुवानीसेवा पारदर्शी बनाउन एक ठाउँबाट अर्को ठाउँमा ट्रक सञ्चालनको सम्पूर्ण प्रक्रिया डिजिटल ट्रयाकिङमार्फत् व्यवस्थित गरिने बताइएको छ । महासंघले ट्रक व्यवसायको आधुनिकीकरणका लागि डिजिटल डाटाबेस, स्मार्ट कार्ड प्रणाली, ट्रक रुट नियमन, सवारी पास तथा बीमा प्रणालीलाई पनि अनलाइन प्रणालीमा रुपान्तरण गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।







