थाहामा वातावरणमैत्री झोला निर्माण तालिम

हेटौंडा- मकवानपुरको थाहा नगरपालिकामा वातावरणमैत्री झोला निर्माण तालिम सुरु भएको छ । उद्योग तथा बाणिज्य कार्यालय हेटौंडाको आयोजना तथा थाहा नगरपालिका वडा न ३ र थाहा नगरउद्योग वाणिज्य संघको व्यवस्थापनमा थाहाको थानाबजारमा तालिम सुरु भएको हो । तालिम उद्घाटन गर्दै वडा न ३ का अध्यक्ष तथा थाहा नगरपालिका आर्थिक विकास समिति संयोजक हिरेन्द्रकुमार रायमाझीले सिकेको सीप व्यवहारमा लागू गर्न आग्रह गरे । पूर्णसरसफाई यूक्त नगर निर्माणमा बातावरणमैत्री झोला निर्माणले टेवा पुग्ने उनको भनाई छ ।
मानवस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने बातावरण स्वच्छ राख्न प्रत्येक नागरिकको दायित्व रहेको उल्लेख गर्दै उनले प्लाष्टिकजन्यपदार्थको अन्त्यका लागि यो कार्यक्रम प्रभावकारी हुने र स्वरोजगारमा पनि टेवा पुग्ने बताए । कार्यक्रममा थाहा नगरउद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले बिगतमा पनि थाहा नगरउद्योग वाणिज्य संघले सामाजिक उत्तरदायित्वको काम गर्दै आएको बताए ।
महिलालाई आत्मनिर्भर बनाउन वातावरणमैत्री झोला निर्माण कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिए ।उद्योग तथा वाणिज्य कार्यालय हेटौंडाका प्रमुख रामप्रसाद भुषालको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटनमा प्रशिक्षक आरती श्रेष्ठले स्वागत गरेकी थिइन् । जेठ १९ गतेसम्म चल्ने तालिममा १७ जना महिलाको सहभागिता रहेको छ ।