हत्याको अभियागमा मकवानपुरको एकै पालिकाका तीनजना पक्राउ

हेटौंडा- धादिङ गजुरी गाउँपालिका–२ डुडेठाँटीमा भएको एक व्यक्तिको हत्या घटनामा मकवानपुरको एकै पालिका तीनजनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।गजुरी गाउँपालिका वडा नं. २ डुडेठाँटी बस्ने करिब वर्ष ६० का चुडामणि कँडेलको हत्या अभियोगमा मकवानपुरको राक्सिराङका तीनजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, धादिङले सार्वजनिक गरेको हो । कँडेल आफ्नै दुईतले घरको भुँईतलाको कोठाभित्र रहेको एटेच बाथरुमभित्रको भुँईमा घाँटीमा डोरी कसिएको अवस्थामा मृतफेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । गत चैत २७ गते २१ः५५ बजेको समयमा कँडेलको शव भेटिएको थियो ।
पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका वडा नं. ९ घर भई धादिङ गजुरी गाउँपालिका वडा नं. २ डुडेठाँटी बस्ने वर्ष ३६ को अक्कलबहादुर प्रजा, राक्सिराङ गाउँपालिका वडा नं. ९ कै वर्ष २५ का पृथलाल थिङ र वर्ष २७ को सञ्चलाल मुक्तान रहेका छन् । प्रहरीका अनुसार प्रजालाई वैशाख ३ गते गजुरी गाउँपालिका वडा नं. २ डुडेठाँटीबाट, थिङ र मुक्तानलाई मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ७ मनहरीबाट यही वैशाख १६ गते पक्राउ गरिएको हो ।
जिल्ला अस्पताल धादिङबाट चिकित्सक र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट कुकुरसहितको प्राविधिक प्रहरी कर्मचारीसमेत टोलीले अनुसन्धान गरी उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । प्रहरीले मृतकको घाँटीमा कसेको डोरी, घटनामा प्रयोग भएको कोदालो, अभियुक्त अक्कलबहादुर प्रजाको कोठाबाट एक लाख रुपैयाँ, मृतकको फोन फुटाएर फालेको स्थानबाट प्राप्त फुटेको रेडमी मोवाइल फोनको टुक्राहरु बरामद गरेको छ । प्रहरीका अनुसार तीन जनालाई ज्यानसम्बन्धी कसूरमा धादिङ जिल्ला अदालतबाट म्याद थपगरी अनुसन्धान भइरहेको छ ।