वैशाख २६ र २७ गते प्रदेशस्तरीय लोकभजन प्रतियोगिता हुने

हेटौंडा-राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान, जिल्ला कार्यसमिति मकवानपुरले बागमती प्रदेशस्तरीय लोकभजन प्रतियोगिता आयोजना गर्ने भएको छ । वैशाख २६ र २७ गते प्रदेश राजधानी हेटौंडामा प्रदेशस्तरीय लोकभजन प्रतियोगिता आयोजना गर्न लागिएको सोमबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको छ । लोपोन्मुख अवस्थामा रहेका खैँजडी, मुजुरा, कर्ताल, मृदङ लगायत मौलिकबाजाहरु प्रयोग गरी लोकभजन, चुट्का, ख्याली कीर्तन, श्लोक र वालनविधामा प्रतियोगिता आयोजना गरिने प्रतिष्ठानका अध्यक्ष अनिता सुवेदीले जानकारी दिइन् ।
नेपाली मौलिक लोकभजन, नेपाली मौलिक लोकसंस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवद्र्धनका निम्ति प्रतियोगिता आयोजना गरिएको उनले बताइन् । लोकभजनक्षेत्र र लोकबाजा क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्नुकासाथै अशक्त, असहाय र निमुखाको उत्थानका लागि कोष स्थापना गरिने बताइएको छ । प्रतियोगिताको बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले उद्घाटन गर्नेछन् । प्रतियोगितामा विभिन्न जिल्लाका १० वटा भन्दा बढी लोकभजन समूहले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त समूहलाई नगद ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्रदान गरिनेछ भने सान्त्वना स्थान हासिल गर्ने दुईवटा समूहले पाँच÷पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख रुपैयाँ लाग्ने आयोजकको अनुमान रहेको छ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय, मकवानपुरका १० वटै स्थानीय तह र हेटौंडा उपमहानगरका ४, ५, १८ र १९ नम्बर वडाको समन्वयमा कार्यक्रम हुन लागेको हो । पत्रकार सम्मेलनमा प्रतिष्ठानका केन्द्रीय सदस्य नारायण रेग्मी, जिल्ला सचिव विदोद पुडासैनी लगायतको उपस्थिति थियो । यस्ता कार्यक्रमले युवापुस्तामा मौलिक संस्कृतिप्रतिको रुचि जागृत गराउने आयोजकको विश्वास रहेको छ ।