सीप सिकेर व्यवसाय गर्नुस् वीउपुजीँमा सहयोग हुन्छः अध्यक्ष मुक्तान
हेटौंडा- कैलाश गाउँपालिका–३ कालिकाटारमा सञ्चालित चाउमिन बनाउने तालिम मंगलबार समापन भएको छ । समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले सीप सिकेर व्यवसाय गर्न आग्रह गरेका छन् । ‘सीप सिक्नुभयो, अब व्यवसाय गर्नुस्, वीऊपुजीँको लागि गाउँपालिकाले आवश्यक सहयोग गर्नेछ’ अध्यक्ष मुक्तानले भने । वडागतरुपमा कुन वडालाई कुन किसिमको तालिमको आवश्यकता छ सोहीअनुरुप तालिमको आयोजना गर्दै आइरहेको बताउँदै अध्यक्ष मुक्तानले सीपलाई समूदायसम्म पुगी व्यवहारमा उतार्नुपर्ने बताए । भौगोलिक विकटताले बजारिकरणमा समस्या भएता पनि यहाँ उत्पादन भएका चाउमिनलाई पालिकाभर मात्र नभई मनहरी क्षेत्रमा समेत विक्री गर्ने लक्ष्य लिएर काम गर्न सहभागीलाई उनले आग्रह गरेका थिए ।
गाउँपालिकाको विकासका कामरु भइरहेको अवस्थामा नागरिक र लक्षितवर्गमा सीपमूलक तालिम पनि प्रदान गर्दै आइरहेको गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले बताए । ‘उद्देश्य हाम्रो व्यवसायी वा उद्यमी बन्ने हो तर, अहिले विस्तारै सीप र उद्यमशीलता तर्फ उन्मूख गराउँदै आइरहेका छौं,’ उनले भने । भौतिक विकास मात्रै नभई हामीले मानवीय र सामाजिक विकासतर्फ पनि ध्यान दिइरहेको उनले बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठले स्थानीय स्तरबाटै उत्पादन गरेर व्यवसाय गर्न सकिए आर्थिकपक्ष बलियो रहने बताए । सिकेको सीपलाई हस्तान्तरण गर्दै लैजानु भयो भने आफूमा निखारता बढ्दै जाने बताए ।
सीप सिकेर आगामी दिनमा व्यवहारमा उतार्दै अघि बढ्ने सहभागी संगीता प्रजाले बताइन् । चाउमिन बनाउने कार्यलाई निरन्तरता दिने प्रतिवद्धता दिँदै बजारीकरणमा समस्या रहने प्रजाले बताइन् । महिलाएकता सार्थक समाज नेपालका अध्यक्ष प्रमिला लामाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष मुक्तानको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो ।सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको साझेदारीमा लै·िक सशक्तिकरणका लागि उद्यमशीलता विकास तथा व्यावसायिक चाउमिन बनाउने तालिम भएको हो । १४ दिनसम्म सञ्चालित तालिममा १७ जना गृहिणी महिला तथा किशोरीको सहभागिता रहेको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मल्ल, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाप्रमुख रमिला सापकोटा, चाउमिन तालिमका प्रशिक्षक रेशम थिङलगायतको आतिथ्यता रहेको थियो । तालिम ७ दिन चाउमिन बनाउने र ७ दिन उद्यमशील, प्याकेजिङ, लेवलिङ बजारिकरणका विषयमा तालिम प्रदान गरिएको थियो ।







