बिपद् प्रतिकार्य योजनासम्बन्धी बैठक आयोजना
हेटौंडा- जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिपद् प्रतिकार्य योजनासम्बन्धी बैठक आयोजना गरेको छ । बिपद्को जोखिम कम गर्न र बिपद जाँदा तत्काल उद्दार र राहत र पुर्नस्थापनाका लागि बैठक आयोजना गरिएको हो । वर्षायाम सुरु हुनैलाग्दा बिपदमा खटिने विभिन्नक्षेत्रका सरकारी कार्यालयलाई योजनासहित उद्दार र राहतमा लाग्ने ब्यबस्थापनका लागि बैठक आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताइन् । बिपद्का बेला सरकारको उपस्थिति पूर्वतयारीसहित हुनुपर्ने प्रजिअ श्रेष्ठको भनाई छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कंडेलले बिपदका बेला खोज उद्दार गर्ने पीडितलाई सुरक्षितस्थानमा सार्नेको पोषण, स्वास्थ्य, शिक्षालगायत विषयमा पूर्वतयारी र तीनै तहका सरकारबीच समन्वय सहितको कार्ययोजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्थानीय तहका प्रमुख–उप्रमुख, राजनीतिक दलका प्रतिनिधि, प्रहरीउपरीक्षक विश्वराज खड्का, सशस्त्र प्रहरीउपरीक्षक सन्तोषबिक्रम शाह, राष्ट्रिय अनुसन्धान कार्यालय मकवानपुर प्रमुख प्रज्ज्वल खड्का सहित जिल्लास्थित सरकारी कार्यालयका कार्यालयप्रमुख, जिल्लाका सामाजिक संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । बैठकले सबै सरकारी कार्यालयलाई बिपद प्रतिकार्य योजना जेठ महिनाभित्र जिल्ला बिपद समितिमा पेश गर्न निर्देशन दिएको छ । यस्तै सबै स्थानीय तहलाई मनसुनजन्य बिपद प्रतिकार्य योजना बनाई जिल्ला बिपद ब्यबस्थापन समितिमा पठाउन आग्रह गर्ने निर्णय भएको छ ।







