पत्रकारको क्षमता अभिवृद्धि तालिम सुरु
हेटौंडा- नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा प्रविधिको प्रयोग र सञ्चारक्षेत्रको बदलिँदो परिस्थिति विषयक दुईदिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । सुनौलो सिसौट नेपालको आयोजनामा बुधबारदेखि सुरु भएको तालिमको जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर घलानले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा प्रमुखअतिथि घलानले पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै पत्रकारिता क्षेत्रमा नयाँ अवसरसँगै विभिन्न चुनौती थपिएको बताए । उनले तथ्यमा आधारित रहेर व्यावसायिक पत्रकारिता गर्दै चूनौती पार गर्नुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले पत्रकारिता अहिले डिजिटल प्लेटफर्ममा रुपान्तरण भइसकेको उल्लेख गरेका छन् । पत्रकारिताक्षेत्रमा देखिएका विकृती विसङ्गतीलाई चिर्दै समाजलाई नयाँ ढङ्गमा लैजान सञ्चारकर्मीले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उनको जोड थियो । तालिमको पहिलो दिन अग्रज पत्रकार दिलभूषण पाठकले पत्रकारितामा प्रविधिको प्रयोग, पत्रकारितामा लै·िक संवेदनशीलता लगायत विषयमा अनुभवसहित प्रशिक्षण दिएका थिए ।
त्यस्तै, मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक डा. निमेष निखिलले समाचार लेखनमा भाषिक शुद्धता र आइटी इञ्जिनियर विवेकानन्द न्यौपानेले पत्रकारितामा सूचनाप्रविधिको समुचित प्रयोग, साइबर सुरक्षा, डिजिटल प्लेटफर्मको सदुपयोगलगायत विषयमा व्यावहारिक ज्ञान प्रदान गरेका थिए । बिहीबारसम्म सञ्चालन हुने तालिममा मकवानपुर जिल्लाका विभिन्न सञ्चारमाध्यममा क्रियाशील २५ जना सञ्चारकर्मीको सहभागिता रहेको छ । सुनौलो सिसौट नेपालका सचिव अनिकेत तिवारीले तालिमको उद्देश्य र औचित्यमाथि प्रकाश पारेका थिए ।







