तीन दशकभित्रै नेपाल बुढ्यौली समाजमा रुपान्तरण हुने
हेटौंडा- जनसांख्यिक लाभ कसरी लिने ? भनेर सरकारी तहबाट बहस, छलफलको प्रयास भर्खर सुरु भएको बेला जनसंख्या भने बुढ्यौलीतर्फको यात्रामा प्रवेश गरिसकेको छ । मुलुकमा सक्रिय जनसंख्या अधिक भएको समयमा आर्थिक विकास उच्चदरमा हुने संसारका धेरै देशका उदाहरण भएपनि नेपालमा भने अहिलेभर्खर बहस भइरहेको छ । मुलुकले आजभन्दा दुईदशक पहिले नै जनसांख्यिक लाभको चरणमा प्रवेश गरिसकेको थियो । मुलुक अहिले जनसांख्यिक लाभको उत्कर्षमा रहेको तथ्यांक पनि सार्वजनिक भइसकेको छ । संसारभर भइरहेको प्रक्षेपण मोडल र सर्वमान्य मान्यताअनुसार नेपाली जनसंख्याको चरित्र अहिले लाभमा त छ तर, बुढ्यौलीतर्फको यात्रामा प्रवेश गरिसकेको छ । युवा, वयस्क र बुढ्यौलीपना भनेजस्तै जनसंख्यामा परिभाषित बुढ्यौलीमा प्रवेश गरेकाहरुको हिस्सा अनुसार तय हुन्छ ।
यदि कुनैपनि जनसंख्यामा ६५ वर्षमाथिको उमेर समूहको संख्या ७ प्रतिशत माथि भएमा बुढ्यौलीतर्फ प्रेवश गरेको मानिन्छ । यो विश्वव्यापी अवधारणा हो । यो अवधारणाअनुसार २०७८ को जनगणनामा नेपाली जनसंख्या बुढ्यौलीमा प्रवेश गरिसकेको छ । तर, यसको मतलब केही वर्षमै बुढ्यौली हुने भने होइन यसका लागि अझै पनि करिब २ दशकमा नेपाली समाज बुढ्यौली समाज हुने प्रक्षेपण गरिएको हो ।
नेपालको कुल जनसंख्यामा अहिले ६५ वर्षमाथिको संख्या ६.९ प्रतिशत रहेको छ । तर, नेपाल सरकारले ६० वर्षमाथिको उमेर समूहलाई बुढ्यौली मानेकाले यो संख्या १०. २ प्रतिशत छ । ६५ वर्ष नै मानेपनि ६० मानेपनि नेपाली जनसंख्या बुढ्यौली उन्मुख भइसकेको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता ढुन्डीराज लामिछानेले जानकारी दिए । ‘राष्ट्रसंघीय मान्यता र चलचल्तीको बुझाइअनुसार गएपनि हामी बुढ्यौलीमा गइसकेका छौँ भने हाम्रै कानूनअनुसार गएपनि झन बुढ्यौली नजिक पुगिसकेका छौँ’, उनले भने । यद्यपि नेपालले अब ६० बाट ६५ वर्षमाथिलाई बुढ्यौली मान्ने अवस्था आएको उनको भनाइ छ । नेपालीको औषत आयुमा भएको सुधारले पनि अब नेपालले आगामी दिनमा यसमा सुधार गर्ने उनको भनाइ छ ।
यदि यसो गर्दा पनि नेपाली जनसंख्या बुढ्यौलीमा जाने उनको भनाइ छ । यसका पछाडि अर्को कारण छ जन्मदर । पछिल्लो बालबालिकाको हिस्सा जनसंख्यामा निरन्तर घटेको छ । प्रजननदर नै प्रतिस्थापन तहभन्दा मुनि झरेको छ । विवाह टार्ने र बच्चा थोरै जन्माउने प्रवृत्ति देखिएको छ । कुल जनसंख्यामा १४ प्रतिशत ६५ वर्षमाथिको उमेर समूहको हिस्सा भएमा बुढ्यौली समाज हुन्छ । यदि ६५ वर्षमाथिलाई बुढ्यौली मान्ने हो भने पनि नेपाल विस २१११ सम्म बुढ्यौली समाजमा रुपान्तरण भइसक्ने प्रक्षेपण कार्यालयको छ ।
२१ प्रतिशतभन्दा माथि यस्तो हिस्सा भएमा सुपर बुढ्यौली समाज मानिन्छ । संसारमा सबैभन्दा धेरै बुढ्यौली अहिले जापानको ३० प्रतिशत रहेको छ । नेपालमा पछिल्लो समयमा ०–१४ वर्ष उमेर समूहको संख्या निरन्तर घट्दै आएको छ । कुल जनसंख्यामा यो समूहको हिस्सा २०५८ मा ३९.४ प्रतिशत थियो । त्यस्तै २०६८ मा यो हिस्सा ३४.९ मा झरेको थियो । २०७८ सम्म पुग्दा २७.८ प्रतिशतमा सीमित भएको छ । संख्यामा पनि गिरावट आएको छ ।
२०५८ मा यो समूहको संख्या ८९ लाख ४८ हजार ५८७ थियो भने २०७८ मा पुग्दा ८१ लाख १५ हजार ५७५ मा झरेको छ । तर, पछिल्लो चार दशकमा ६० माथिको समूहको संख्या भने तीन गुणाले बढेको छ । २०४८ सालमा १० लाख भएको यो उमेर समूहको संख्या २०७८ मा २९ लाख ७७ हजार पुगेको छ । हिस्सा पनि ५.८ प्रतिशतबाट १०.२ प्रतिशत पुगेको छ । न्यून प्रजननदर, वैदेशिक आप्रवासन, स्वास्थ्यामा सुधार हुँदा औसत आयुमा भएको वृद्धिले गर्दा बुढ्यौली संख्यामा वृद्धि हुँदै आएको छ ।
यो संख्या बढ्दै गएर आगामी तीन दशकमै परनिर्भर संख्यामा वृद्धि हुने देखिएको छ । नेपालले जनसांख्यिक लाभको अवसर लिनै छुटाएको छ । यो अवसर नलिँदै भविष्यमा थपिने बुढ्यौली समाज र त्यसको व्यवस्थापनमा अहिलेदेखि नै सचेत हुनुपर्ने अवस्था आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा. स्वर्णम वाग्ले जनसांख्यिक लाभको अवसर लिने झ्यालढोका सबै बन्द हुँदै गएको बताउँछन् । प्रतिनिधिसभामा बोल्दै उनले यो लाभ लिनका लागि निकै चनाखो र छिटो हुनपर्ने नभए मुलुक जनसांख्यिक संक्रमणको ट्रयापमा पर्ने बताए ।







