नेपाली ५ सयको नक्कली नोटसहित एकजना पक्राउ
हेटौंडा- मकवानपुर प्रहरीले नेपाली नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ । हेटौडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा नक्कली नोटसहित प्रहरीले एकजनालाई पक्राउ गरेको हो । बर्दिबासबाट हेटौंडातर्फ आउँदै गरेको बा. ३३ प ९९८३ नं. को मोटरसाइकल चालक रामकृष्ण अधिकारीलाई नेपाली ५०० दरको नक्कली नोट १ सय ८६ थान सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
धादिङको गंगाजमुना गाउँपालिका–२ घरभई हाल हेटौंडा उपमहानगरपालिका–८ मा बस्दै आएका वर्ष ४२ का अधिकारीलाई शंका लागि खानतलासी गर्ने क्रममा ९३ हजार नक्कली रुपैयाँ फेला परेको प्रवक्ता अर्यालले बताए ।प्रहरीको अनुसार अधिकारीले बोकेको झोलाभित्र लुकाईछिपाई ल्याइएको अवस्थामा नेपाली ५०० दरका नक्कली नोट १ सय ८६ थान (९३ हजार रुपैयाँ) फेला परेको हो । अधिकारीलाई मुद्रा अपचलनसम्बन्धी कसुर मुद्दामा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धानकार्य भईरहेको प्रहरीले जनाएको छ ।







