थाहामा लागुऔषध तथा मदिरा नियन्त्रणसम्बन्धी अन्तरक्रिया
हेटौंडा- मकवानपुरको थाहा नगरपालिकामा नागरिक सुनुवाई सहित लागुऔषध तथा मदिरा नियन्त्रणसम्बन्धी अन्तरक्रियाको आयोजना गरिएको छ ।जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजना एवम् थाहा नगरपालिकाको समन्वयमा कार्यक्रम भएको हो । प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको सभाध्यक्षता तथा थाहा नगरप्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा नगरप्रमुख बिष्टले मकवानपुरमा लागुऔषध कारोवार तथा ओसारपसारका घटना वृद्धि भइरहेकोे भन्दै चिन्तासँगै सुरक्षा चुनौती थपिएको बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बिश्वराज खड्काले जिल्लामा आर्थिक बर्ष २०८१÷८२ को चैत मसान्तसम्म ४ हजार ३ सय १७ किलो गाँजा, २० किलो २ सय ३१ ग्राम अफिम, ४ सय २८ ग्राम खैरोहेरोइन, ५१ किलो ७ सय १० ग्राम चरेस, कोरेक्स ३ सय ७७ बोतल, नाइट्राभेट ६० हजार ४ सय ५५ क्याप्सुल, डाइजेपाम १६ सय ३२ एम्पुल र लागुऔषध कारोबारमा प्रयोग भएको ३४ थान सवारीसाधन पक्राउ गरेको जानकारी दिएका थिए ।
प्रमुख खड्काका अनुसार यस आर्थिक बर्षको चैतसम्म १ सय ३९ वटा मुद्दा दर्ता गरी २ सय ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिल्लामा १५ वर्षदेखि २५ वर्षसम्म उमेर समूहका ५१ प्रतिशतले लागूऔषधको प्रयोग गर्ने गरेको तथ्यांक रहेको छ भने २६ देखि ३५ वर्षका २९ प्रतिशत र ३६ वर्षदेखि माथीका २० प्रतिशतले लागूऔषध प्रयोग गर्ने गरेको छ ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलले जिल्ला प्रशासन कार्यालयबाट सम्पादन हुने कार्यको बारेमा प्रस्तुतीकरण दिएका थिए । नागरिक सुनुवाइ कार्यक्रममा उठेका प्रश्नको जबाफ दिदै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले अरुको भविष्यमाथी खेलवाड गर्नेलाई बिचरा, कठै भन्ने छुट कसैलाई नभएको बताउदै लागूऔषधमा निर्मम भएर अगाडि बढ्नुपर्ने बताइन् । उनले विशेषगरी स्थानीय तहले लागुऔषध खेती र कारोबार रोक्न ध्यान दिनुपर्नेमा जोड दिइन् ।
विशेषतः नागरिकको तर्फबाट थाहानगरमा ईलाका प्रशासन कार्यालय, नागरिकता रराष्ट्रिय परिचयपत्र शिविर र लागूऔषध कारोबारी पक्राउमा
प्रहरीको भूमिकासम्बन्धी प्रश्न गरेका थिए । सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक सन्तोषबिक्रम शाह, राष्ट्रिय अनुसन्धान मकवानपुरका उपअनुसन्धान निर्देशक प्रज्ज्वल खड्का, थाहा नगरपालिका उपप्रमुख भरत गोपाली, राजनीतिक दलका प्रमुखहरु, जनप्रतिनिधि, कर्मचारी, टोलसुधार समितिका प्रतिनिधिलगायत स्थानीयको उपस्थिति रहेको थियो ।







