चेपाङ स्वायत्त र संरक्षितक्षेत्र घोषणा गर्न माग
हेटौंडा- नेपाल चेपाङ संघ केन्द्रीय समितिले बागमती प्रदेशभित्रका चेपाङ समुदाय बाहुल्य रहेको क्षेत्रलाई चेपाङ स्वायत्त र सरक्षितक्षेत्र घोषणा गर्न बागमती प्रदेश सरकारसँग माग गरेको छ ।संघ केन्द्रीय समितिले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालगायतलाई आइतबार अनुरोधपत्र बुझाउँदै यस्तो मागगरेको हो । संघले मुख्यमन्त्री लामा, प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले र प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपाललाई १४ बुँदे मागसहितको अनुरोधपत्र बुझाएको छ । चेपाङ समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक स्तरीकरण वृद्धिका लागि चेपाङ स्वायत्त र सरक्षितक्षेत्र घोषणाको लागि सम्भाव्यता अध्ययन तथा स्वायत्त, विशेष वा संरक्षितक्षेत्र घोषणा गर्न नीतिगत व्यवस्था गर्न संघले प्रदेश सरकारसँग माग गरेको छ ।
संघका अध्यक्ष एवम् संविधानसभा सदस्य गोविन्दराम चेपाङ, संविधानसभा सदस्य राजाराम स्याङ्तान, बागमती प्रदेशका पूर्वराज्यमन्त्री सन्तबहादुर प्रजालगायतको टोली अनुरोधपत्र बुझाउन गएका थिए । संघले प्रदेश सरकारसँग आगामी आवमा चेपाङ संरक्षितक्षेत्र घोषणा गरी विशेष कामर्यक्रम र बजेटको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेको संघका अध्यक्ष गोविन्दरामले बताए । चेपाङ संघको अनुरोधपत्र बुझ्दै मुख्यमन्त्री लामा, मन्त्री काफ्ले र उपाध्यक्ष नेपालले चेपाङ समुदायको मागप्रति वर्तमान सरकार संवेदनशील रहेको भन्दै आगामी आवको बजेटमा माग संवोधन गर्न प्रयास गर्ने बताए ।
अध्यक्ष गोविन्दरामले चेपाङ समुदायको बालबालिका घरमा पेटभर खाने खानेकुराको अभावबीच विद्यालय जान बाध्य ती विद्यार्थीमध्ये वार्षिक कम्तिमा १० जना चेपाङ बालबालिकालाई प्राविधिक शिक्षा सूचना र प्रविधि, कृषिप्रविधि, वनविज्ञान, कानुन विषयमा निःशुल्क अध्ययन गर्न पाउने गरी आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिदिनु पर्नेलगायतका माग सरकार राखिएको बताएका छन् ।







