संघीय सरकारलाई मुख्यमन्त्रीको चुनौती : ‘हेटौंडा सिमेन्टको स्वामित्व प्रदेशलाई दिनुस्, नाफामा लाने ग्यारेन्टी हाम्रो’

साझाकुरा
२०८२ जेष्ठ १, बुधबार ११:४२

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले हेटौंडा सिमेन्ट उद्योग र कपडा उद्योगको स्वामित्वको प्रदेशले पाए नाफामा लैजाने बताएका छन् ।मंगलबार हेटौंडामा भएको मुख्यमन्त्रीसँग युवा संवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले आपूmले केही समयअघि संघीय सरकारसँग सिमेन्ट उद्योग र कपडा उद्योगको स्वामित्व प्रदेश सरकारलाई दिन माग गरिएको तर, केन्द्रिकृत मानसिकता हाबी हुँदा संघ सरकारले स्वामित्व दिन नमानेको उल्लेख गरे । ‘हेटौंडा सिमेन्ट मलाई दिनुस्, दुई वर्षभित्र नाफा कमाएर देखाईदिन्छु, हामी पनि प्रयोग गर्छौँ भनेको तर, दिनै चाहेन’ उनले भने । त्यसैगरी कपडा उद्योगको पुननिर्माण गरेर सञ्चालन गर्ने प्रस्ताव पनि आपूmले संघीय
सरकारसमक्ष राखेको उनले बताए ।

‘प्रदेश सरकारलाई उद्योग दिए प्रत्येक वर्ष नाफा नै नाफा हुने गरी सञ्चालन गर्ने ग्यारेन्टी दिन्छौँ’ उनले भने, ‘स्थानीयस्तरको जनशक्ति प्रयोग गरेर रोजगारीको अवसर सिर्जना हामी गर्न सक्छौँ ।’ मुख्यमन्त्री लामाले पुँजीको अभावमा उद्योग रुग्ण अवस्थामा पुगेको जिकिर गरे । स्थानीयस्तरमै उपलब्ध जनशक्ति प्रयोग गरेर उद्योगलाई नाफामा लैजान सक्ने क्षमता प्रदेशसँग भएको उनले दाबी गरे । मुख्यमन्त्री लामाले स्थानीयस्तरकै उत्पादन प्रयोग गर्ने नीति ल्याएर कपडा उद्योगलाई पनि नयाँढंगले सञ्चालन गर्न सकिने धारणा राखे ।

मुख्यमन्त्री लामाले स्वदेशमै काम गर्ने लक्ष्य युवा पुस्ताले लिनुपर्ने बताए । उनले युवा पलायनलाई रोक्ने योजना बनाउन प्रदेश सरकार लागि रहेको बताए । विज्ञान र प्रविधिसँग जोडिएको योजनालाई प्रदेश सरकारले नीति तथा कार्यक्रममा प्राथमिकता दिने उनको भनाई छ । मुख्यमन्त्री लामाले युवालाई कृषि क्षेत्रमा प्रोत्साहन गर्नुपर्ने धारणा राखे । सरकारले युवाको क्षेत्रमा ल्याएको कार्यक्रमबारे युवापुस्ताले जानकार राख्नुपर्ने उनको भनाई छ । मुख्यमन्त्री लामाले तालिम लिएकालाई उद्यमशील बनाउन प्रदेश सरकारले बीउपुँजीको व्यवस्था गरेको बताए ।

स्वदेशमै रोजगारीको अवसर वृद्धि गर्नको लागि पनि कृषिक्षेत्रलाई प्राथमिकता दिनुपर्ने उनको भनाई छ ।त्यसैगरी मुख्यमन्त्री लामाले युवालक्षित कतिपय कार्यक्रम बजेटको अभावमा अघि बढ्न नसकेको बताए । कार्यक्रमको कार्यान्वयनपक्षलाई सबलीकरण गर्नुपर्ने उनले उल्लेख गरे । मुख्यमन्त्री लामाले प्रदेशको आम्दानीको स्रोत पनि थोरै भएको युवाक्षेत्रमा चाहेजति कार्यक्रम ल्याउन नसकेको समेत स्वीकार गरे । मुख्यमन्त्री लामाले विकास एकैचोटी नहुने भएकोले धैयर्ता गर्न पनि आग्रह गरे । स्थानीय तहलाई प्रदेश
सरकारले युवामैत्री कार्यक्रम ल्याउन आग्रह गरिएको उनले बताए ।

मुख्यमन्त्री लामाले उद्योगीलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउनुपर्ने बताए । देशमा रोजगारीको अवसर उद्योगबाट मात्र सिर्जना हुने भएको उद्योगलाई व्यवस्थित गर्नुपर्ने उनको भनाई छ । मुख्यमन्त्री लामाले देशमा लगानीको वातावरण बनाउन नसकेकै कारण उद्योग सञ्चालन गर्न कठिन भएको बताए ।मुख्यमन्त्री लामाले मदिरालाई ब्राण्डिङ गर्नुपर्ने बताए । नियम, कानुनको कारण मदिरालाई ब्राण्डिङ गर्न समस्या भएको समेत उनले जिकिर गरे । मुख्यमन्त्री लामाले काम समयमा सम्पन्न गर्न कर्मचारीसंयन्त्र सक्रिय हुनुपर्नेमा जोड दिँदै कर्मचारीले समयमै काम नगर्दा दोष सरकारलाई आइरहेको गुनासो गरे ।

राष्ट्रसेवक कर्मचारीलाई विधिभित्र रहेर मनैदेखि काम गर्न आग्रह गर्दै उनले नीतिकै कारण कामगर्न असहज भएमा नीति नै परिवर्तन गर्न पनि सरकार तयार रहेको बताए । साथै, प्रदेश सरकारले अब कर्मचारीको व्यवस्थित रेकर्ड राख्ने काम सुरु गरेको मुख्यमन्त्री लामाले बताए ।मुख्यमन्त्री लामाले संविधानमा उल्लेखित कतिपय अधिकारको प्रदेश सरकारले अझै पनि प्रयोग गर्न नसकेको बताएका छन् ।

हालसम्म प्रदेशको आम्दानीको श्रोत, यातायात र जग्गा रजिष्ट्रेशनको शुल्क मात्रै भएको बताए । मुख्यमन्त्री लामाले प्रदेशले बनाउने बजेटमा समेत संघ सरकारपनि आश्रित हुनुपर्ने अवस्था रहेको बताए । ‘कुल बजेटको ८० प्रतिशत संघीय सरकारकै भर पर्नुपर्ने अवस्था छ, २० प्रतिशत मात्रै हाम्रो क्षमता हो’ उनले बताए । मुख्यमन्त्री लामाले युवा पुस्तालाई कसैप्रति पनि नकारात्मक धारणा नराख्न सुझाव दिए ।

युवापुस्ताले आफ्नो जोश र जाँगरलाई देश निर्माणमा लगाउनुपर्ने बताए । सामाजिक सञ्जालमा तत्काल प्रतिक्रिया जनाइहाल्ने प्रवृत्ति त्याग्न पनि मुख्यमन्त्री लामाले युवालाई आग्रह गरे । युवाले लिएको तालिममा काममा परिणत गर्नुपर्नेमा उनले जोड दिए । अग्रज सञ्चारकर्मी रुपेश श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा युवाले प्रदेश सरकारको नीति, कार्यक्रम, बजेटलगायत विविधि विषयमा प्रश्न गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*