कुलेखानी तेस्रोको दुवै युनिटबाट विद्युत् उत्पादन सुरु

हेटौंडा- जेनेरेटर प्लेटको मर्मत सकिएपछि कुलेखानी तेस्रोको दुवै युनिटबाट विद्युत् उत्पादन सुरु भएको छ । आयोजनाको तेस्रो जलविद्युत् केन्द्रको एउटा युनिट बिग्रिएकामा १४ दिनपछि मर्मत सकिएको हो ।मर्मतपछि सोमबार अपराह्नदेखि उत्पादन सुरु भएको हो । कुलेखानीको तेस्रोका दुई युनिटमध्ये एउटा युनिटको जेनेरेटर प्लेटमा खराबी आएपछि वैशाख १५ देखि मर्मत थालिएको थियो । चिनियाँ तीन प्राविधिक र नेपाली १८ प्राविधिक मर्मतमा जुटेका थिए । केन्द्रका प्रमुख प्रसन्नमणि ताम्राकारले आइसोलेसन प्लेटमा समस्या आएपछि फेर्ने काम गर्नुका साथै टर्बाइन र जेनेरेटरको एलाइनमेन्ट मिलाउने काम गरिएको बताए ।
१४ मेगावाट क्षमताको कुलेखानी तेस्रोमा २ वटा युनिट छन् । एउटा युनिटको जेनेटर बिग्रे पनि अर्को युनिटबाट ७ मेगावाट विद्युत् उत्पादन भइरहेको थियो । सोमबार अपराह्नदेखि १४ मेगावाट विद्युत् उत्पादन भएको प्राविधिकले बताएका छन् । आयोजनाका विद्युत उत्पादन गर्ने तीन केन्द्र छन् । भीमफेदी गाउँपालिकाको सानुटारमा तेस्रो पावरहाउस छ । कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले भने, ‘तेस्रोको जेनेटर बिग्रिँदा करिब २ साता कुलेखानीले पूर्ण क्षमताका साथ विद्युत् उत्पादन गर्न सकेन ।’
नेपाल विद्युत् प्राधिकरणको ‘ब्याकअप’का रुपमा रहेको कुलेखानी जलाशयमा अहिले दैनिक ६० देखि ७० सेन्टिमिटर पानीको सतह घट्ने गरेको छ । सोमबार अपराह्न १ हजार ५ सय ५६ सेन्टिमिटर पानीको सतह रहेको छ । आयोजना अहिले चौबिसै घण्टा सञ्चालनमा छ । जलाशयमा १ हजार ५ सय ३० मिटर उचाइसम्म पानी अट्ने क्षमता छ । कुलेखानी प्रथम ६०, दोस्रो ३२ र तेस्रोबाट १४ मेगावाट उत्पादन क्षमता छ ।