भुगर्भविद्को प्रारम्भिक अध्ययनको प्रतिवेदन : घटनाको प्रमुख कारण ५ वर्ष अघि खनिएको बोरिङ

साझाकुरा
२०८२ जेष्ठ १, बुधबार ११:४९

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१६ गैरीगाउँमा जमिन भासिएर गाडी हराएको विषयमा खानी तथा भूगर्भ विभागको टोलीद्वारा गरिएको प्रारम्भिक अध्ययनको प्रतिवेदन आएको छ । घटनाको प्रमुख कारण जमिनमुनिको सिल्ट मिश्रित पानीको निष्कासन रहेको देखिएको छ । घटनास्थल र आसपासका क्षेत्रबाट संकलन गरिएको नमूना परीक्षण नतिजा अनुसार हाल भासिएको स्थानमा ५ वर्ष अघि खनिएको बोरिङ रहको र बोरिङबाट लामो समयसम्म सिल्ट मिश्रित धमिलो पानी निरन्तर निष्कासित हुँदै आएको देखिएको छ ।

भूगर्भविद्का अनुसार यही प्रक्रियाले जमिनभित्र ससाना भ्वाङहरु बनाउँदै गएको र अन्ततः जमिनमाथि निरन्तर भार रहँदा त्यो भासिँएर ठूलो खाडलमा परिणत भएको पाइएको छ । भूगर्वविद्को अध्ययन नतिजा अनुसार सिन्कहोलको केन्द्रदेखि भासिएको सडकको पूर्वीभागमा ४÷२ मिटरको क्षेत्रफमा उच्चचुम्बकीय असमानता देखाएको छ । यो संकेत भासिएका गाडीले उत्पन्न गर्ने असमानतासँग मिल्दोजुल्दो देखिएको भूगर्भविद्ले बताएका छन् ।

अनुसन्धानका क्रममा भूगर्वविद्को टोलिले ८ मिटर गहिराइसम्म फलामे ड्रिलिङ रड धसाएका थिए । करिब ६ मिटरमा अबरोध आएपछि सोही गहिराइमा सवारीसाधन भएको अनुमान गरिएको छ । अध्ययनले जमिनको अवस्था कमजोर देखिएको छ । सिन्क होल बनेको स्थानको माटोको परीक्षणबाट ५ मिटर गहिरासम्म पाँगो माटो र त्यसमुनि मसिनो वालुवा रहेको पुष्टि भएको छ । साथै जमिनको सतहभन्दा करिब ५ दशमलव ५ मिटरमुनि भूमिगत जल सतह रहेको देखिएको भूगर्वविद् कृष्ण पाण्डेले बताए ।

विशेषज्ञहरुका अनुसार, यसक्षेत्रको माटोको संरचना खुकुलो र कमजोर भएकाले एक्स्काभेटर वा क्रेन प्रयोग गरेर गाडी निकाल्न जोखिमपूर्ण हुने बताइएको छ । जमिनको भारवहन क्षमता कमजोर रहेकाले यसक्षेत्रमा उत्खनन गर्दा विस्तृत इन्जिनियरिङ योजना, प्रबलिकरण, थप अध्ययन, विशेषज्ञको निगरानीमा मात्र गर्नुपर्ने भूगर्भविद्को सुझाव छ । भूगर्भीय नक्सा, उपग्रह तस्बिर, र प्रोटोन म्याग्नेटोमिटर लगायत प्रविधिको प्रयोगमार्फत अध्ययन गरिएको थियो ।

वैशाख १९ गते जमिन भासिएर ना ४ च ४८३३ नम्बरको पिकअप गाडी हराएपछि हेटौंडा उपमहानगरको आग्रहमा भासिएको क्षेत्रको अध्ययनका लागि विभागका जियोलोजिष्ट डा. नारायण अधिकारीको नेतृत्वमा कृष्ण पाण्डे, मणि खनाल र अमरबहादुर थापाको टोली हेटौंडा आएर नमूना संकलन गरेका थिए । संकलित संकलित नमूनाको परीक्षण लैनचौरस्थित खानी तथा तथा भूगर्भ विभागको जियोटेक्निकल प्रयोगशालामा परीक्षण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*