क्रियाशील मेलमिलापकर्ताको लागि कानूनी शिक्षा सचेतना

साझाकुरा
२०८२ जेष्ठ १, बुधबार ११:५४

हेटौंडा-मकवानपुरको थाहा नगरपालिकाले नगरमा क्रियाशील मेलमिलापकर्ताको लागि कानूनी शिक्षा सचेतना सहित ३ दिने कानुनी शिक्षा अभिमूखीकरण गरेको छ । विशेषगरी तालिममा मेलमिलापकर्ताको भूमिका र विवाद व्यवस्थापनसम्बन्धी जानकारी गराइएको थियो । मेलमिलापकर्ता र न्यायिक समितिका पदाधिकारी र सदस्यलाई विवाद, विवादको स्वरुप, कारण, चरण, सामुदायिक अन्तरनिर्भरता, प्रचलित उपायहरु, मेलमिलापको ऐतिहासिक विकासक्रम, विवाद समाधानका रणनीति,मेलमिलापकर्ताको भूमिका र दायित्व, मान्यता, हित अडानसम्वन्धी जानकारी, मेलमिलाप प्रक्रियाको जानकारी, आशय प्रभाव तथा निष्कर्ष तहको जानकारी, मेलमिलापपूर्व पश्चातको जानकारी, मेलमिलाकर्तामा हुनुपर्ने गुणहरु, मेलमिलापका लागि चाहिने थप सीपको वारेमा प्रशिक्षण गरिएको न्यायिक समिति सहजकर्ता गोपी कार्कीले जानकारी दिइन् ।

३ दिने तालिम समापनमा नगरप्रमुख बिष्णु बिष्टले स्थानीय सरकारलाई सफल बनाउन मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण भएको बताएका छन् । वडा र समुदाय तहमा मेलमिलापबाट विवादको टुंगो लगाउन सकियो भने नगरपालिका तहमा कार्यबोझ कम हुने र पालिकाको गरिमा उचो हुने उनको भनाई थियो । थाहा नगरपालिका न्यायिक समिति संयोजक भरत गोपालीले न्यायसम्पादन गर्दा कसैले पनि राजनैतिक पूर्वाग्रह राखेर न्यायसम्पादन गर्न नुहने बताए । उनले समुदायमा मेलमिलापकर्ताको महत्वपूर्ण भूमिका रहने भन्दै न्यायले पीडितलाई झन पीडा र पीडकलाई उत्साही हुने खालको न्यायसम्पादन गर्न नहुने बताए ।

तालिममा सहभागीले समुदायमा भएको विवादलाई मेलमिलाप गराउदा अपनाउनुपर्ने ज्ञान, सीप प्राप्त भएको र त्यस्ता विवाद समाधान गर्न थप जानकारी मिलेको बताए । सहभागीले वडामा देखिएका समस्या अब नगरपालिका नआएर वडामै बिवाद मिलाउन आफूहरु लाग्ने बताए । तालिममा प्रशिक्षक अधिवक्ता प्रवीण हुमागाई, पुष्कर पराजुली, सुष्मा पौडेल,बन्धुराज पौडेल, कविता अधिकारीले न्यायिक समिति र मध्यस्थकर्ताले न्यायसम्पादनमा खेल्नुपर्ने भूमिका बारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा थाहाका १२ वटैवडाका मेलमिलापकर्ताको सहभागिता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published.


*