दुग्घ संघले भुक्तानी नदिने उद्योगीको विवरण जिल्ला प्रशासनमा बुझायो
हेटौंडा- दुग्ध विकास संस्थान र निजी डेरी उद्योगले भुक्तानी नदिने उद्योगीको विवरण जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुझाएको छ ।लामो समयसम्म कृषलाई दुग्धको बक्यौता रकम भुक्तानी नगरेकोेले मकवानपुर जिल्ला दुग्घ उत्पादक सहकारी संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठसमक्ष जिल्लाभरमा रहेका दुग्ध उत्पादक सहकारी संस्थाले उद्योगसँग लिनुपर्ने विवरण सहित भुक्तानीको लागि आवश्यक सहजिकरणका लागि अनुरोध गरेको छ । केन्द्रीय दुग्ध सहकारी संघले घोषणा गरेकोकार्यक्रमअन्तरगत मंगलबार प्रमुख जिल्ला अधिकारीलाई यो विवरण पेश गरिएको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कंडेलले बताए ।
केन्द्रीय दुग्ध सहकारी संघले गत बैशाख २६ गते घोषणा गरेको कार्यक्रमअन्तरगत मंगलवार प्रमुख जिल्ला अधिकारीलाई यो विवरण पेश गरिएको हो । गत जेठ २५ गतेदेखि असार ४ गतेसम्म कृषकको दूधको भुक्तानीका लागि गरेको आन्दोलनपश्चात कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव, सहसचिव, राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त निर्देशक, दुग्ध विकास संस्थानका महाप्रबन्धकलगायत आन्दोलनरत किसान प्रतिनिधिको उपस्थितिमा भएको १० बुँदे सम्झौता गरेको थियो ।
सम्झौता हालसम्म कार्यन्वयन नभएकोले सम्झौता कार्यान्वयन गर्नको लागि आग्रहसहित आगामी जेठ १ गतेदेखि चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो । हाल मकवानपुरमा ६२ वटा सहकारी संस्थामार्फत् करिव १३ हजार कृषकले दैनिक ८५ हजार लिटर भन्दा बढी दुध उत्पादन गरी संकलन गर्दै मासिक १८ करोड भन्दा बढी रकम आम्दानी गर्दै आएका छन् । मकवानपुर जिल्ला दुग्घ उत्पादक सहकारी संघको सहजीकरणमा देशका बिभिन्न दुग्ध उद्योगले मकवानपुरका सहकारीबाट कच्चा दुग्ध खरिद गर्दै आएकोमा उद्योगले लामो समयदेखि २२ करोड भन्दा बढी रकम भुक्तानी नगरेको संघका निमित्त ब्यवस्थापक दामोदर आधिकारीले बताए ।
पटकपटकको ताकेता र आग्रह गर्दापनि उद्योगले सम्झौता अनुसारको रकम भुक्तानी नगरेको निमित्त ब्यवस्थापक अधिकारीले बताए । सहकारी संघ प्रतिनिधिसँगको छलफलमा मकवानपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले स्थानीयक्षेत्रमै दुधको विविधिकरणका लागि उद्योग स्थापना गर्न सुझाव दिइन् । उनले भुक्तानी दिन बाँकी उद्योगीसँग आवश्यक समन्वय गर्ने पनि बताइन् । छलफलमा केन्द्रीय दुग्ध सहकारी संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद देवकोटा, सञ्चालक बिदुर हुमागाई, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका सञ्चालक हेमप्रसाद न्यौपाने लगायत बिभिन्न सहकारी संघ÷संस्थाका अध्यक्ष, ब्यवस्थापकको सहभागिता रहेको थियो ।







