कैलाशमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया
हेटौंडा- कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले मकवानपुरका अधिकांश यूवाहरु लागूपदार्थ सेवनमा फसेका बताएका छन् ।बुधबार गाउँपािलकाको सभाहलमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा भएको लागूऔषध नियन्त्रणसम्बन्धी अन्तरक्रिया तथा नागरिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मुक्तानले मकवानपुरका अधिकांश युवा दुव्र्यसनीमा फसेको बताए । गाजाँखेतीको विषयमा विद्येयक प्रदेश सरकार र संघीय सरकारमा दर्ता भएको अवस्थामा खेती गर्नेको संख्या बढ्दो रहेको उनले बताए । कैलाश र राक्सिराङमा कच्चापदार्थ उत्पादन हुन्छ, त्यो भारत पुगेर लाखौं मूल्यमा नेपाल भित्रने गरेको अध्यक्ष मुक्तानले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले लागूपदार्थ गाजाँ र अफिमखेती, विक्रीवितरण र सेवनको अन्त्य गरिनुपर्ने बताइन् । कार्यक्रममा प्रहरी उपरीक्षक विश्वराज खड्काले लागूऔषधसम्बन्धी आफ्नो प्रस्तुती दिएका थिए । उनले दुव्र्यसनका चरणहरु, शारीरिक तथा मानसिक असरहरु, यूवामा परेको असर, ऐनमा उल्लेख भएका विशेषता तथा दण्ड सजायबारे जानकारी दिएका थिए ।
अफिमबाट बन्ने ब्राउन सुगर प्रयोगकर्ता मकवानपुरमा अन्य जिल्लाभन्दा अग्रस्थानमा रहेको प्रहरी उपरीक्षक खड्काले बताए । समस्या र चुनौती धेरै रहेको अवस्थामा नियन्त्रण गर्नमा नियमित कार्य गरिरहेको उनले बताए । चालु आवमा चार हजार तीन सय १७ किलो गाजाँ र २० किलो अफिम बरामद गरिसकेको तथ्यांकमा उल्लेख छ । कार्यक्रममा मकवानपुर रिकभरी समूहका अनिल लामाले आफ्ना अनुभव र दुव्र्यसनमा फस्ने किशोरअवस्था र यूवाको दुव्र्यसनको चक्रबारे प्रस्तुतीकरण गरेका थिए ।
वडा नं. १० का वडाध्यक्ष सूर्यबहादुर ब्लोन, वडा नं. ७ का अध्यक्ष उदासकुमार भोलन, वडा नं. ९ का अध्यक्ष भूवनसिं घलान, पूर्ववडाअध्यक्ष माणिकलाल मुक्तान, रवीन्द्र थिङ, महेश चेपाङ, राजकुमार चेपाङ, राजेन्द्र थिङले आफ्ना जिज्ञासा राखेका थिए । नागरिकता तथा राष्ट्रिय परिचयपत्रको विषयमा पनि छलफल भएको थियो । प्रजिअ श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रहरीउपरीक्षक खड्का, सशस्त्र प्रहरी बल १४ नं. गणका प्रमुख प्रहरीउपरीक्षक सन्तोषविक्रम शाह, राष्ट्रिय अनुसन्धान हेटौंडाका उपअनुसन्धान निर्देशक प्रज्ज्वल खड्का, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतको आतिथ्यता रहेको थियो । गाउँपालिका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, स्थानीयबासी र कर्मचारीको सहभागिता रहेको थियो ।







