रासायनिक मलको विकल्प खोज्नुपर्छः सहामहामन्त्री डीना

साझाकुरा
२०८२ जेष्ठ २, बिहीबार ११:०८

हेटौंडा- मकवानपुरको बकैया गाउँपालिका–७ मा हर्दाखहरे बोरिङ सिंचाई आयोजनाको उद्घाटन गरिएको छ ।बागमती प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको बोरिङको नेपाली काँग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ र बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाईमन्त्री श्यामबहादुर खड्काले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । कुल ३६ लाख रुपैयाँ लागतमा सम्पन्न आयोजनाबाट १५ बिगाहा क्षेत्रफल जमिनमा सिंचाई सुविधा उपलब्ध हुने बताइएको छ । यो सिंचाई आयोजनाले १० हर्जपावर क्षमताको पम्पमार्फत ८ लिटर प्रतिसेकेन्ड पानी प्रवाह गर्न सक्ने क्षमता राख्ने भूमिगत सिँचाई आयोजना प्रमुख केशव जैशीले जानकारी दिए ।

बंजर जमिनमा सिँचाई सुविधा पुगेपछि हर्दाखहरे टोलका किसान खुशी भएका छन् । आकाशे पानीको भरमा वर्षको एकबाली मात्रै खेती गर्दै आएका किसान वर्षभर खेती गर्न पाउने भएपछि उत्साहित बनेका हुन् । कार्यक्रममा नेपाली कांग्रेसकी सहमहामन्त्री डीनाले जमिनमा जल र मलको संयोजन मिलाउनुपर्ने बताएकी छिन् । उनले जल र मलको संयोजन मिलाउनसके कृषिउत्पादनमा उल्लेख्य वृद्धि गर्न सकिने उल्लेख गरिन् । सहमहामन्त्री डीनाले रासायनिक मलको कारण माटोको उर्वराशक्ति हस हुँदै गएकोमा चिन्ता व्यक्त गरिन् ।

रासायनिक मलको विकल्प खोज्नुपर्ने आवश्यकता भएको उनको भनाई छ । सहमहामन्त्री डीनाले अब जैविक मलको प्रयोग बढाउनु पर्नेमा जोड दिइन् । स्थानीय सरकारले पनि जैविक मलमा अनुदानको व्यवस्था गर्नुपर्ने उनले बताइन् । आगामी आर्थिक वर्षका लागि नेपाल सरकारले जैविक मल प्रोत्साहनका लागि ८ अर्ब रुपैयाँ अनुदान विनियोजन गर्न लागेको उनले जानकारी दिइन् । कार्यक्रममा खानेपानी उर्जा तथा सिँचाई मन्त्री खड्काले नेपालमै रोजगारीको वातावरण बनाउन कृषिक्षेत्रको उत्पादकत्व बढाउनुपर्ने धारणा राखे ।

बागमती प्रदेशमा रहेका उर्वरजमिनमा मल, जल, बीउ र सिँचाईको उचित प्रबन्ध गरेर यहीँ रोजगारी सिर्जना गर्न सकिने उनले बताए । मन्त्री खड्काले तीन तहको सरकारबीच समन्वय गरी विकास निर्माणका कार्य अघि बढाउनु आवश्यक रहेकोमा जोड दिए । ‘बेतेनीदेखि रक्सिराङसम्मको क्षेत्रमा अझैपनि खानेपानीको चरम अभाव रहेको छ ‘मन्त्री खड्काले भने, ‘निर्वाचित जनप्रतिनिधिले दलभन्दा माथि उठेर जनताका लागि काम गर्नुपर्छ’ उनले अब ग्राउन्ड रिचार्ज प्रणालीको आवश्यकता रहेका पनि बताए ।

सिँचाई उपभोक्ता समितिका अध्यक्ष तोत्रप्रसाद बोलखेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, नेपाली कांग्रेस नेता आनन्दराम पराजुली, पालिकाका पूर्वअध्यक्ष दामोदर खनाल, अन्य जनप्रतिनिधि लगायत स्थानीयको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*