‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा डेडिकेटेड लाइनको व्यवस्था हुनुपर्छ’

साझाकुरा
२०८२ जेष्ठ २, बिहीबार ११:१४

हेटौंडा- अस्पतालहरुमा उर्जा आपूर्ति कटौती हुँदा आइपर्ने समस्याका विषयमा हेटौंडामा कार्यशाला सम्पन्न भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको साझेदारीमा सामाजिक तथा वातावरणीय परिवर्तन अध्ययन संस्था नेपालले अस्पतालमा आकस्मिकरुपमा उर्जा कटौती हुँदा हुनसक्ने जोखिम, पूर्वतयारी लगायतका बारेमा सरोकारवाला निकायसँग छलफल गरेको हो । प्राकृतिक विपद्, प्राविधिक समस्या वा अन्य विविध कारणले विजुली आपूर्तीमा अवरोध आउँदा अस्पतालको सेवाप्रवाहमा पर्न सक्ने प्रभावका विषयमा कार्यशाला केन्द्रित रहेको थियो ।

कार्यक्रममा सहभागीले अस्पताल जस्तो संवेदनशीलक्षेत्रमा डेडिकेटेड लाइनको व्यवस्था हुनुपर्ने, वैकल्पिक उर्जाका स्रोतमा लगानी बढाउनुपर्ने, समयसमयमा जेनेरेटरको क्षमता जाँच हुनुपर्ने, अस्पतालमा उर्जा आपूर्ति कटौती हुनै नदिने प्रतिबद्धता सहितको नीति बनाउनुपर्ने र बजेट विनियोजन गर्नुपर्ने लगायत सुझाव दिएका थिए । साथै, अस्पताल निर्माण गर्दा भूगर्भीय अध्ययन अनिवार्य गरिनु पर्ने, कम उर्जाखपत गर्ने उपकरणको प्राथमिकता दिनुपर्ने लगायत सुझाव समेटिएको थियो । कार्यशालामा अनुसन्धानकर्ता कञ्चनमणि दीक्षित, डाक्टर नरेश रिमालले पेश गरेको अनुसन्धान प्रतिवेदन अनुसार हेटौंडा अस्पताल रहेको स्थान प्राकृतिक प्रकोपको उच्चजोखिममा रहेको देखाइएको छ ।

कार्यशालामा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गंगादत्त नेपालले वैकल्पिक उर्जा स्रोतको प्रयोगमा नीतिगत प्रतिबद्धता आवश्यक रहेका बताए । प्रतिष्ठानका उपकुलपति डाक्टर प्रदीप ज्ञवालीले हेटौंडा अस्पतालमा मात्र नभई प्रदेशका १३ वटै अस्पतालमा यस्ता अनुसन्धान आवश्यक रहेको बताए । हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाले आकस्मिकरुपमा पावर कट हुँदा तत्काल सेवा सुनिश्चित कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रयोगतात्मक अभ्यास आवश्यक रहेको बताए । छलफलमा प्रदेश र स्थानीय तहका प्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, निजीक्षेत्रका प्रतिनिधि, नागरिकसमाज, ऊर्जा प्रदायक क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*