हेटौंडाकी बालकलाकारदेखि वरिष्ठ चलचित्र पत्रकार सम्मानित
हेटौंडा-चलचित्र पत्रकार संघ मकवानपुरले कलाकार र पत्रकारलाई सम्मान गरेको छ । चलचित्र पत्रकारिता दिवस २०८२ को अवसरमा संघले शनिबार आयोजित कार्यक्रमको बीच २ जना कलाकार र २ जना पत्रकारलाई सम्मानगरेको हो । नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय पत्रकारिता सम्मान २०८२ बाट वरिष्ठ चलचित्र पत्रकार अनन्त वाग्लेलाई नगद राशी ११ हजार १११ रुपैयाँ सहित पुरस्कृत गरिएको हो । तीन दशकदेखि छापामाध्यममा सक्रिय रहेका वाग्ले विश्व घटना च्यानलमा आवद्ध छन् । संघले मकवानपुरमा जन्मिएर चलचित्र, कलासाहित्य र संगीतमा राष्ट्रियस्तरमा सक्रिय रहेका चलचित्रकर्मीलाई स्व. धनमान श्रेष्ठ स्मृति कलाकर्मी सम्मान २०८२ बाट रंग संयोजक रेनिस फागोलाई नगदसहित सम्मान गरेको छ । दुई सय भन्दा बढी चलचित्रमा रंग संयोजन गरेका उनको चलचित्र प्रेमगीतका सिरिज्, काली, सेतो बाघ, १२ गाउँ, पिताम्बर, नरसिंहा अवतार चर्चित चलचित्र हुन् ।
त्यस्तै, मकवानपुरमा रहेर सक्रिय पत्रकारिता गरिरहेका रेडियो थाहासञ्चारका स्टेशन म्यानेजर गोकुल अधिकारीलाई चलचित्र पत्रकारिता पुरस्कार २०८२ बाट पुरस्कृत गरिएको छ । अधिकारी दुई दशकदेखी रेडियोमा सक्रिय रहेका छन् । दिवसकै अवसरमा पहिलोपटक बोक्सीको घर चलचित्रमा अभिनय गरेर चर्चा कमाएकी हेटौंडाकी बालकलाकार शुपला सापकोटालाई अभिनय यात्रामा अझै सफलता मिलोस् भन्ने हेतुले प्रशंसापत्रले सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमको प्रमुखअतिथि बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री श्यामबहादुर खड्का, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष शान्तिप्रिय लगायतले सम्मान गरेका हुन् ।
वि.स २०५६ जेष्ठ ७ गते संघ स्थापना भएकाले हरेक वर्ष जेष्ठ ७ गते चलचित्र पत्रकारिता दिवस मनाउँदै आइरहेको छ । कार्यक्रममा मन्त्री खड्काले समाजलाई शिक्षित बनाउन चलचित्रको अहम् भूमिका रहेको बताएका छन् । समाजमा दबिएका आवाजलाई चलचित्रले पर्दामार्फत् उजागर गरेको उनको भनाई छ । चलचित्र मनोरञ्जन मात्र नभई शिक्षा दिने माध्यम पनि बन्नुपर्ने उनको भनाई छ । अहिले नेपाली समाज विदेशी चलचित्रप्रति बढी आकर्षित हुनु चिन्ताजनक रहेको मन्त्री खड्काले बताए । त्यसलाई चिर्न पनि नेपालमा उत्कृष्ट चलचित्र बन्नुपर्ने उनको धारणा छ ।
मन्त्री खड्काले २०५६ सालमै चलचित्र क्षेत्र फस्टाएको मकवानपुरमा अहिले किन हस आएको भन्ने विषयमा पनि पुनरावोलकन गर्नुपर्ने बताए । जनताले फिल्म किन हेर्ने ? भन्ने स्पष्टता नहुँदासम्म देशको सिनेमा क्षेत्र डामाडोल नै हुने बताए । वर्तमान समयमा नेपाली चलचित्रले केही हदसम्म सफलता पाए पनि त्यो पर्याप्त हुन नसकेको उनको भनाई छ । मन्त्री खड्काले चलचित्र बनाएर मात्र नहुने भन्दै त्यसको बजारीकरणमा पनि ध्यान दिनुपर्ने बताए । चलचित्रको प्रचारप्रसारमा पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई छ । सञ्चारकर्मीले गर्ने प्रचारप्रसारमै चलचित्रको सफलता निर्भर रहने उनले बताए । मन्त्री खड्काले हुँदै नभएको कुरा भन्दा पनि समाजको यथार्थ विषयवस्तु सुहाउँदो, जनतालाई मनोरञ्जनको साथै शिक्षा पनि दिने चलचित्र निर्माण गर्न आग्रह गरे ।
मन्त्री खड्काले चलचित्र क्षेत्रको विकास र विस्तारको लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष कपिल खड्काको सभाध्यक्षतामा भएको कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय पूर्वअध्यक्ष शान्तिप्रिय, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, पूर्वअध्यक्ष राममणि दाहाल, हेटौंडा उपमहानगरपालिका–६ का अध्यक्ष विष्णु दाहालले चलचित्रका बारेमा बोलेका थिए ।
ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल (वान) का उपाध्यक्ष उज्ज्वल चौलागाई, संघका सल्लाहकार, रुपेश दुलाल, सुशान्त श्रेष्ठ, अमिर गौतम, प्रेस सेन्टर प्रदेश अध्यक्ष ध्रुव अधिकारी, प्रेस चौतरी प्रदेश महासचिव प्रकाश दाहाल, स्वतन्त्र पत्रकार संघका केन्द्रीय उपमहासचिव सुरेश श्रेष्ठ, एनएस सिनेमाका प्रवन्धक नवराज आचार्य, ओम्याक्स हलका सञ्चालक रामराजभण्डारी, रंगकर्मी भोलाराज सापकोटा, उज्ज्वल शर्मा भण्डारी, चलचित्र नरसिंहा अवतारका निर्माता ध्रुव न्यौपाने, दीपक ढकाल, कलाकार राज कटुवाललगायतको आतिथ्यता रहेको थियो ।







