३२ औँ मदन–आश्रित स्मृति दिवस हेटौंडामा सम्पन्न
हेटौंडा-मदन भण्डारी फाउण्डेसन मकवानपुरले शनिबार ३२ औं मदन–आश्रित स्मृति दिवस मनाएको छ । एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३२ औँ स्मृति दिवसका अवसरमा फाउन्डेसनले हेटौंडा–९, स्थित दिव्य बालउद्यानमा स्मृति तथा श्रद्धाञ्जलीसभा कार्यक्रमको आयोजना गरेर स्मृति दिवस मनाएको हो । फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागीले बालउद्यानस्थित मदन–आश्रितको शालिकमा माल्यार्पण गर्नुका साथै जननेता मदन भण्डारी र कुशल संगठक जीबराज आश्रितको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौडेलले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) राष्ट्र निर्माणको आधार भएको बताए । मदन–आश्रितको विषयमा चर्चा गर्दै उनले भने ‘जबज कुनै साधारण सिद्धान्त होइन, यो राष्ट्र निर्माणको आधार हो ।’ उनले जबजलाई व्यवहारमा उतार्न र यसका अनुयायीले आफ्नो जीवनशैलीमा देखिएका गलत प्रवृत्तिको आत्मसमीक्षा गर्दै सुधार गर्नु आवश्यक रहेकोमा जोड दिए ।
मदन भण्डारी फाउण्डेसन मकवानपुरले तीन दिवशीय कार्यक्रम गरेर ३२ औं मदनआश्रित स्मृति दिवश मनाएको हो । दिवशका अवसरमा पहिलो दिन जेठ १ गते हेटौंडा–१५, स्थित दिव्यसेवा निकेतन आश्रयस्थलमा खाद्यान्न वितरण, जेठ २ गते ‘जनताको बुहदलीय जनवादः राष्ट्र निर्माणको आधार’ विषयक बहस कार्यक्रम र मुख्य दिन आज स्मृति तथा श्रद्धाञ्जलीसभा आयोजना गरेको थियो । एमाले हेटौंडा–९ का अध्यक्ष एवम् दिव्य बालउद्यानका सदस्य बासु प्याकुरेलले स्वागतगरेको कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ता, फाउन्डेसनका सदस्यहरु, टोल विकास संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको फाउन्डेसनका सचिव कुमार केसीले जानकारी दिए ।
नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी मृत्यु भएको थियो । मदन आश्रितको स्मृतिमा जेठ ३ गते विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउने गरिन्छ । यसैबीच मदनआश्रित स्मृति दिवशका अवसरमा नेकपा एमाले मकवानपुरले पार्टी कार्यालयमै श्रद्धाञ्जलीसभा आयोजना गरेको थियो । हेटौंडा–११ स्थित सहिद स्मारकमा पनि श्रद्धाञ्जलीसभा आयोजना गरिएको थियो ।







