युवा गजलकार वनबासी र समर्पणको विशेष गजलवाचन
हेटौंडा-गजल मञ्च मकवानपुरको २ सय २४ औं नियमित गजलयात्रा, विशेष गजलवाचनका साथै महफिल २ गंजल संग्रहमाथि हेटौंडामा परिचर्चा गरिएको छ । हेटौंडा उपमहानगरपालिका–४ को प्रवद्र्धनमा शनिबार सम्पन्न कार्यक्रममा युवा गजलकार रुपक वनबासी र केशव समर्पणले विशेष गजलवाचन गरेका थिए । गजलकार बाबु त्रिपाठीले सहजीकरण गर्नुभएको कार्यक्रममा वनबासी र समर्पणले ८÷८ वटा गजलवाचन गरेका थिए ।
यसअघि फरक–फरक भौगोलिकक्षेत्रका १० जना युवा गजलकारको गजलसंग्रह महफिल २ माथि परिचर्चा गरिएको थियो । परिचर्चाकार निमेष निखिलले महफिल २ मा गजलकारले भावुकता मात्रै नभएर अस्तित्वबादी चेतना र सामाजिक उत्तरदायित्व बोक्ने प्रयास गरेको बताए ।
गजल संग्रहमा प्रेम, वियोग, वर्गभेद, अस्तित्ववादी चेतना, नारीचेतना, सामाजिक प्रतिबिम्बन लगायत बहुआयामिक विषय उठान गरिएको भन्दै उनले प्रशंसा गरे । गत फागुनमा विमोचन गरिएको महफिल २ ले क्षेत्रीयता र भाषिक विविधता उजागर गरेको उनले बताए । गजलकार बासु त्रिपाठीले सम्पादन गरेको महफिल २ मा १० जना गजलकारका २०÷२० वटा गजल समावेश गरिएको छ ।
यस्तै, २ सय २४ औँ नियमित गजलयात्रामा मकवानपुरका ९ जना स्रष्टाले गजलवाचन गरेका थिए । गजल मञ्च मकवानपुरका अध्यक्ष सञ्जिव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ४ नम्बर वडाअध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो ।







