जुत्ता चप्पल संघमा पुनः तिमल्सिनाको नेतृत्व
हेटौंडा-जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरको अध्यक्षमा पुनः रामहरि तिमल्सिना चयन भएका छन् । संघको शनिबार भएको चौथौ वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनले पुनः तिमल्सिनाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा केदारनाथ दुलाल, उपाध्यक्षमा जनककुमार दास, महासचिवमा प्रल्हाद खनाल, सचिवमा मोहन उप्रेती र कोषध्यक्षमा राजु लम्साल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा दधिराम गौतम, अर्जुन केशरी, रणदुलाल सार्की, आशिष कुमार पराजुली, कृष्ण चौलागाई, निसान गौतम र सलिम अन्सारी चुनिएका छन् । नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ । हेटौंडा उपमहानगरपालिकाको नगरउपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा संघका अध्यक्ष तिमल्सिनाले वार्षिक प्रतिवेदन पेश गर्दै २५ मिटरको त्रासका बीच आर्थिक मन्दीको सामना गर्दै आपूmहरु व्यवसाय सञ्चालन गर्न बाध्य भएको बताए । राज्यको कुनै पनि निकायबाट व्यावसायिक हित र संरक्षणको लागि ठोस पहलकदमी नभएको उनले गुनासो गरे । ‘राज्यले व्यावसायिक हकहित र संरक्षणको लागि व्यावसायिक ऋणको ब्याजमा भारी छुट दिँदै राज्यले संरक्षण गर्नुपर्ने जरुरी देखिन्छ’ उनले बताए ।
स्थानीय निकाय, मकवानपुर उद्योग वाणिज्य संघ लगायत जिल्लाभित्र रहेका वस्तुगत संघसंस्थासँग सहकार्य गर्न आपूmहरु तयार रहेको उनले उल्लेख गरे । कार्यक्रममा नगरउपप्रमुख बानियाँले संघको गतिविधि उत्पादन र रोजगार केन्द्रित हुनुपर्ने बताए । स्थानीय सरकार व्यवसायीसँग सहकार्य गर्न तयार भएको उनले बताए । नगरउपप्रमुख बानियाँले व्यवसायीलाई प्रत्यक्ष लाभ नहुने मेला महोत्सवलाई उपमहानगरले कानुन नै बनाएर निस्तेज पार्ने जानकारी दिए । स्थानीय उत्पादन र व्यवसायीलाई प्रोत्साहन गर्ने मेलालाई मात्र अनुमति दिने उनले बताए ।
नगरउपप्रमुख बानियाँले स्थानीय सरकार र उद्योग वाणिज्य संघको सम्बन्धमा चिसोपना आएको स्वीकार गरे । उनले आपूmहरु व्यवसायीसँग हातेमालो गर्दै अगाडि बढ्न तयार रहेको बताए । कार्यक्रममा संघले पत्रकारतर्फ टिम टेलिभिजनका संवाददाता कपिल खड्का र व्यवसायीतर्फ डिआर सुज कलेक्सनका प्रोपाइटर लक्ष्मण शाहलाई सम्मान गरेको छ । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्ज्वल चौलागाई, राजु अधिकारी, चेम्बर अफ कर्मश मकवानपुरका अध्यक्ष माधव न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।







