एक दिवसीय स्वास्थ्य शिविर सम्पन्न

साझाकुरा
२०८२ जेष्ठ ५, आईतवार १२:०२

हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघअन्तर्गत रहेको महिलाउद्यमी विकास समितिले एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । महिलाको सामान्य स्वास्थ्य परीक्षण तथा भिआईए जाँचको लागि शिविर आयोजना गरिएको हो । महिलाउद्यमी विकास समितिका सभापति सीतादेवी भेटवालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुखअतिथि हेटौंडा उपमहानगरपालिका नगरउपप्रमुख राजेश बानियाँ रहेका थिए । कार्यक्रम संयोजक तथा महिलाउद्यमी विकास समितिका पूर्वसभापति निलम वैद्यले महिलाले स्वास्थ्य जाँच गराइ लाभ उठाऊन भन्ने अभिप्रायले कार्यक्रम अयोजना गरिएको बताइन् ।

हेटौंडा अस्पतालका डाक्टर ज्योति मुडभरीले पुरुषभन्दा महिलाहरु उपचार गर्न अस्पताल ढिलो गरी आउने गरेको, पाठेघरको मुखको क्यान्सर समयमै उपचार गर्न पाएमा निको हुने, आजको शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सर रोगको लक्षणको परीक्षण भएको बताए । मउवासंघका कार्यवाहक अध्यक्ष काव्यमणि अधिकारीले महिलाको लागि शिविर प्रभावकारी हुने विश्वास व्यक्त गर्दै ग्रामीण क्षेत्रसम्म शिविर आयोजना हुन आवश्यक रहेको विचार व्यक्त गरे ।

संघका पूर्वअध्यक्ष अरुणराज सुमार्गीले महिलाको प्रजननस्वास्थ्यसँग जोडिएको स्वास्थ्य जाँच अहिलेको आवश्यक्ता भएको बताए । कार्यक्रमका प्रमुखअतिथि तथा उपमहानगरका उपप्रमुख बानियाँले उपमहानगरले डाक्टरसहितको सेवा प्रदान गर्नेगरी हेटौंडामा दुईवटा अस्पताल संचालनमा ल्याएको, महिलालक्षित कार्यक्रम गर्न मउवासंघसँग सहकार्य गर्न तयार रहेको, उद्यमी बनाउन क्रियाशील रहेको बताए ।

कार्यक्रममा नेपाल रेयुकायी हेटौंडा क्षेत्रका योगेश्वर श्रेष्ठ, महिलाउद्यमी विकास समितिका सचिव सुनिता हाडालगायतले मन्तव्य राखेका थिए । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश सदस्य उत्तम शर्मा ढकाल, महिलाउद्यमी विकास समितिका पूर्वसभापति अंकिता सुमार्गी, निलम पाण्डे, देवकुमारी ढकाल, सर्मिला डंगोल, मउवासंघका कार्यसमिति सदस्यत्रय राजेन्द्र लामिछाने, भुपेन्द्र अधिकारी, सन्तोष घिमिरे, महिला उद्यमीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*