कुलेखानीको रोयल्टी थाहालाई धेरै हुनुपर्छः नगरप्रमुख विष्ट

साझाकुरा
२०८२ जेष्ठ ७, मंगलवार १२:१७

हेटौंडा-थाहा नगरप्रमुख बिष्णु बिष्टले कुलेखानीबाट प्राप्त हुने जलविद्युत रोयल्टी थाहा नगरपालिकालाई धेरै हुनुपर्नेमा जोड दिएका छन् ।संघीय जलाधार व्यवस्थापन श्रोतकेन्द्र कुलेखानीले थाहा नगरपालिकाको कार्यालयमा आयोजना गरेको कुलेखानी सुरक्षित जलाधार क्षेत्रको घोषणाको लागि पूर्वतयारी छलफल कार्यक्रममा नगरप्रमुख बिष्टले यो कुरामा जोड दिएका हुन् । नगरप्रमुख बिष्टले कुलेखानी जलाशयको संरक्षणमा स्थानीय समुदाय र नगरपालिकाको दीर्घकालीन योगदानको चर्चा गर्दै भने, ‘हामीले जलाधार क्षेत्र जोगाउन गरेका प्रयासका कारण कुलेखानी जलाशय अझै कायम छ । त्यसैले कुलेखानीबाट प्राप्त हुने जलविद्युत रोयल्टीमा थाहा नगरलाई प्राथमिकता दिनु आवश्यक छ ।’

उनले संरक्षणलाई प्रोत्साहन गर्न स्थानीय सरकारलाई समावेशी र न्यायोचित लाभ वितरण प्रणाली आवश्यक भएको बताए । कार्यक्रममा भूसंरक्षण बिभागका वरिष्ठ अधिकृत हरिबंश आचार्यले कुलेखानी क्षेत्रलाई सुरक्षित जलाधार क्षेत्रको रुपमा घोषणा गर्न आवश्यक नीति, संरचना, समुदायको भूमिका र सम्भावित प्रभावबारे सहजीकरण गरेका थिए । कार्यक्रममा स्थानीय तह, प्रदेश तथा संघीय सरकारबीच समन्वयमार्फत दीर्घकालीन संरक्षण रणनीति निर्माण र स्रोत साधनको न्यायोचित बाँडफाँटमा ध्यान दिनुपर्ने निष्कर्ष निकाल्दै सामूहिक पहलमार्फत जलाधार क्षेत्रको संरक्षणमा थप सक्रियता देखाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा थाहा नगरपालिका उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, भूसंरक्षण बिभागका अधिकृत बिजय पुरी, शान्तकुमार शाही, कुलेखानी जलाधारका निमित्त भूसंरक्षण अधिकृत बिष्णुकुमारी अधिकारी, संघीय जलाधार व्यवस्थापन श्रोत केन्द्र कुलेखानीका भूसंरक्षण सहायक निश्चल अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*