राक्सिराङमा दुना टपरी बनाउने तालिम सम्पन्न
हेटौंडा- मकवानपुरको राक्सिराङ गाउँपालिकामा १५ दिने दुनाटपरी बनाउने तालिम आइतबार समापन भएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा लालित्य सेवा प्रतिष्ठानको आयोजनामा तालिम सञ्चालन गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष मुनाकुमारी पाठकको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यतामा तालिम समापन भएको हो ।
कार्यक्रममा सीप सिकेर आफ्नो आम्दानीको स्रोत बढाउन यी तालिमले टेवा पुग्ने अध्यक्ष मल्लले बताए । महिला दिदीबहिनीले अब सीप प्रदर्शन गर्दै दुनाटपरी तयार पारेर विक्री गर्न उनले आग्रह गरेका थिए । गाउँपालिकाले सीप सिकेर आर्थिकपक्ष बलियो बनाउन तालिमको आयोजना गर्दै आइरहेको बताउँदै उनले आगामी वर्षहरुमा पनि विभिन्नखाले तालिमको आयोजना गरिने बताए ।
‘हामीले सीप र उत्पादनसँगै रोजगारी सिर्जना हुने खालका तालिम प्रदान गर्दै आइरहेका छौं’ अध्यक्ष मल्लले भने । तालिममा २६ जना महिलाको सहभागिता थियतालिमपश्चात दुनाटपरी बनाउने मेशिन सिद्धार्थ हरियाली सामूदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, वडा ३ का अध्यक्ष उत्तम वाइबा, प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेत, स्थानीय वन महासंघ राक्सिराङका अध्यक्ष सन्तोष थापा, सिद्धार्थ हरियाली सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष ज्ञानेन्द्र तामाङ, हरियाली टोलविकास समितिका अध्यक्ष माणिकलाल बल लगायतको आतिथ्यता रहेको थियो ।







