आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

साझाकुरा
२०८२ जेष्ठ ८, बुधबार ११:४६

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–११ मा लागूपदार्थ, दुव्र्यसन, साइबर क्राइम तथा आत्महत्या न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।हेटौंडा उपमहानगरपालिकाको सहयोगमा टोल विकास संस्था नगरसमन्वय समितिको आयोजनामा तथा सामुदायिक सेवाकेन्द्र, हेटौंडा–११ र टोल विकास संस्था वडासमन्वय समिति, हेटौंडा–११ को व्यवस्थापनमा कार्यक्रम भएको हो । टोल विकास संस्था नगरसमन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाका–११ का अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो । प्रमुखअतिथि दाहालले युवावर्गलाई लागूपदार्थ, दुव्र्यसन र साइबर अपराधबाट जोगाउन सामुदायिक तहबाट नै सचेतनामूलक गतिविधि आवश्यक रहेको बताइन् ।

‘समाजमा बढ्दो दुव्र्यसन र मानसिक असन्तुलनले आत्महत्याको दर बढ्दै गएको छ । हामीले विद्यालय, टोल, परिवार सबै तहमा संवाद र सहयोगको वातावरण सिर्जना गर्नुपर्छ । समस्या देखेर मात्र हुँदैन, समाधानमा सामेल हुनु आजको आवश्यकता हो’ उनले बताइन् । वडाध्यक्ष दाहालले यस्ता कार्यक्रमले युवालाई आत्मविश्वासी, जिम्मेवार र सुरक्षित डिजिटल प्रयोगकर्ता बन्न प्रेरणा दिने विश्वास व्यक्त गरिन् । कार्यक्रमका सभापति अधिकारीले लागूपदार्थको कुलत, दुव्र्यसन र साइबर अपराधको असर हाम्रो समाजको भित्री संरचनामै असर पार्न थालेको बताउँदै, यसका समाधानका लागि सचेतना, सम्वाद र पुनःस्थापनाको संयोजनमा आधारित कार्यक्रम नियमित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रशिक्षक डा. अर्पण पराजुली र प्रहरी वरिष्ठ नायवनिरीक्षक विकास शर्माले लागूपदार्थको मानसिक र शारीरिक असर, साइबर क्राइमका नयाँ स्वरुपहरु, र आत्महत्या न्यूनीकरणका उपायबारे विस्तृत जानकारीमूलक प्रस्तुति दिए । कार्यक्रममा नगरसमन्वय समितिका उपाध्यक्ष सती न्यौपाने, विष्णु ढुंगाना, उपमहासचिव देवकुमार श्रेष्ठ, सदस्यहरु ज्ञानेन्द्र देवकोटा, लिना पौडेल, तथा टोल विकास संस्था वडासमन्वय समिति, हेटौंडा–११ का अध्यक्ष यज्ञबहादुर आचार्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा टोल विकास संस्थाका प्रतिनिधि, अभिभावक गरी ८५ जनाको सक्रिय सहभागितारहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*