खाने तेल भनेर डिजल हाल्दा घरमा आगलागी
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–८, कमानेस्थित एक घरमा आगलागी भएको छ । बुधबार साँझ कमानेस्थित नमुनाटोलमा बस्ने बच्चा देवानबाबुको घरमा आगलागी भएको मकवानपुरका प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरी नायवउपरीक्षक अर्यालका अनुसार, देबानको घरमा डेरा गरी बस्ने पर्सा वीरगन्ज महानगरपालिका–३० बस्ने सलाउदिन देवानको छोरी वर्ष १३ की असिया खातुनले तरकारी पकाउनको लागि कराईमा खाने तेल हाल्ने क्रममा झुक्किएर डिजेल हाल्दा आगो उत्पन्न भएपछि घरमा आगलागी भएको हो ।
आगलागीमा असिया खातुनको अनुहार, हात, पिठिउँ र खुट्टामा जलेको छ । भारत बिहार, जिल्ला मोतिहारी आदापुरग्राम कलबारी मझौलिया बस्ने वर्ष २५ की अफ्रिदा खातुनको बाया कान, गाला र बाया हात जलेर सामान्य घाइते भएको प्रहरी नायवउपरीक्षक अर्यालले बताए । प्रहरीले घाइते दुबै जनालाई उपचारको लागि हेटौंडा अस्पताल पठाएको छ । घरमा लागेको आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको र आगलागीबाट धान, चामल र कपडा गरी अन्दाजी २० हजार बराबर क्षति भएको प्रहरी नायवउपरीक्षक अर्यालले जानकारी दिएका छन् ।







