अचार उत्पादक महिलालाई नयाँ प्रविधि हस्तान्तरण
हेटौंडा- मकवानपुरको थाहा नगरपालिकामा अचार उत्पादनमा संलग्न महिलालाई नयाँ प्रविधि हस्तान्तरण गरिएको छ ।सीप अभिवृद्धि र उत्पादन क्षमता वृद्धिमा सहयोग पुग्ने उद्देश्यले प्रविधि हस्तान्तरण गरिएको हो । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत थाहा नगरपालिकाले थाहा–३ घर्तीखोलामा रहेको थाहा अचार उद्योग महिला समूहका उद्यमीलाई आधुनिक ड्राइ मेसिन, सिल मेसिन, कटर मेसिन सहित १ लाख ४० हजार रुपैयाँ बराबरको सामाग्री प्रदान गरिएको हो । स्थानीय महिला समूहमार्फत अचार व्यवसायमा आबद्ध महिलाले परम्परागत तरिकालाई प्रविधिसँग जोड्दै व्यवसायिकरुपमा विस्तार गर्ने लक्ष्य लिएका छन् ।
‘पहिले घरायसी तरिकाले अचार बनाउँथ्यौं, अब भने मेशिनको प्रयोग, सही नापजाँच र गुणस्तरको आधारमा उत्पादन गर्न सिक्यौं,’ थाहा नगरपालिका–३ की यशोदा कार्कीले भनिन् । प्रविधि पाएपछि समूहकी सानू तामाङ मोक्तानले प्रविधिको प्रयोगले उत्पादनमा गुणस्तर कायम गर्न सजिलो हुने र महिलालाई स्वावलम्बी बनाउँदै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा लैजाने लक्ष्य लिएको बताइन् ।
प्रविधि हस्तान्तरण गर्दै थाहा नगरप्रमुख बिष्णु बिष्टले महिलाको आत्मनिर्भरता र उद्यमशीलताको प्रसंशा गर्दै नगरपालिकाले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रविधि हस्तान्तरणले थाहा अचार उद्योगको अचार व्यवसायलाई व्यवस्थित र व्यावसायिक बनाउने अपेक्षा गरिएको बताए । कार्यक्रममा वडा न ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, मेड्पाकी सुनिता बुढा क्षेत्री, मेड्पाकी फोकल पर्सन अस्मिता तिवारीलगायत थाहा अचार उद्योगका महिलाको उपस्थिति रहेको थियो ।







