खानेपानी व्यवस्थापन बोर्डको १२औँ वार्षिकोत्सव
हेटौंडा-हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १२ औँ वार्षिकोत्सव बिहीबार सम्पन्न भएको छ । हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता एवम् बोर्डका अध्यक्ष प्रताप बिष्टको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख लामाले बोर्डले उपभोक्तालाई शुद्ध र सुरक्षित खानेपानी वितरण गर्दै आएको उल्लेख गरिन् । उनले खानेपानीको सहज आपूर्तिमा उपमहानगर प्रतिबद्ध रहेको बताइन् । नगरप्रमुख लामाले उपमहानगरमा खानेपानीसम्बन्धी समस्याको दीर्घकालीनरुपमा व्यवस्थापन गर्न संघ र प्रदेश सरकारसँगको समन्वयमा काम भइरहेको जानकारी दिइन् । खानेपानी बोर्ड असफल हुँदा सरकार नै असफल हुने उनको भनाई छ । नगरप्रमुख लामाले जनताले स्थानीय सरकारको प्रत्यक्ष अनुभुति गर्ने काम गर्न खानेपानी बोर्डका कर्मचारीलाई आग्रह गरिन् ।
बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाले आर्थिक वर्ष २०८०÷८१ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै दैनिक सरदर पानी उत्पादन ६० लाख लिटरबाट बढेर हाल ३ करोड ७० लाख लिटर पुगेको जानकारी दिएका छन् । पानी चुहावट दर ३५ प्रतिशतबाट घटेर २० प्रतिशतमा झरेको छ । पूर्वाधार विस्तारतर्फ अघिल्लो वर्ष ८ हजार ५ सय ३७ वटा रहेका धाराको संख्या हाल २८ हजार ४ सय ६३ पुगेको छ भने थप १९ हजार ९ सय २६ नयाँ धारा जडान गरिएको छ । नगरक्षेत्रमा बोर्डकै स्रोतबाट १५ वटा डिप ट्युवेल निर्माण गरिएको छ । मकवानपुरगढी, भीमफेदी र हेटौंडा–९ मा गरी थप ७ स्थानमा समवेल निर्माणकार्य सम्पन्न गरिएको बताइएको छ ।
वार्षिकोत्सवको अवसरमा बोर्डले कर्मचारी, नियमित तथा अधिक महसुल भुक्तानीकर्ता, पानी लिकेज तथा चुहावटसम्बनधी सूचना दिने व्यक्तिलाई सम्मान गरेको छ । यस्तै बोर्डमा हस्तान्तरण भएको उपभोक्ता समितिका अध्यक्ष, स्वयम्सेवीरुपमा पानी ट्यांकी सञ्चालन गर्दै आएका व्यक्तिलाई पनि बोर्डले सम्मान गरेको छ । वार्षिकोत्सवको अवसरमा नगदसहित कर्मचारी सवईन्जिनियर प्रवीण कडरिया, प्लम्बर उपेन्द्रप्रसाद आचार्य, कनिष्ठसहायक दीपिका केसी र श्रृजना अर्याल, मिटर रिडर सृजना पुलामी, प्रकाश श्रेष्ठ, तारादेवी थिङ, फिल्ड सहयोगी अशोक चौलागाई, सुनिल राई र संजिव थिङ, सहयोगी किशोर पोखरेल, पम्प सहयोगी ईश्वर लामिछाने, कृष्णप्रसाद वस्ताकोटी, भुपेन्द्र सिलवाल, द्रोणकुमार
धमला र पाल्साङ बल, चौकिदार तीर्थ मोक्तान, प्रकाश तामाङलाई सम्मान गरिएको छ ।वार्षिकोत्सवको अवसरमा नियमित तथा अधिक खानेपानी महशुल भुक्तानी गर्ने हेटौंडा सामुदायिक आँखा अस्पताल, हेटौंडा–४ पारिजातपथका तुलसीराम लामिछाने, हेटौंडा–१९, बस्तीपुरका महेशदेव भट्टराई, हेटौंडा–१८, हर्नामाडीका प्रेमबहादुर कार्की, हेटौंडा–१६ हटियाका प्रकाश पुरी, हेटौंडा–१४ बनेलधापका लक्षबहादुर थपलिया र हेटौंडा–४, हुप्रचौरका राजु शिवाकोटीलाई सम्मान गरिएको छ ।
पानी लिकेज चुहावट सम्बन्धी सूचना दिने तथा सरोकारवालाबीच सौहाद्र्धपूर्ण वातावरण निर्माण गर्न सहयोग गर्ने सूचनादाता हेटौंडा–१९, बस्तीपुरका श्याम रिमाल, हेटौंडा–१६, हटियाका बद्री दाहाल, हेटौंडा–१८, हर्नामाडीका हर्क रम्तेल, हेटौंडा–८, कमानेका रामबहादुर दुलाल, हेटौंडा–७, न्यूरेनीका सुनिल शिवाकोटी, हेटौंडा–१४, बनेलधापका कृष्णबहादुर गोले, हेटौंडा–१५, रातोमाटेका भरत निरौलालाई वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको छ ।हेटौंडा–१६, हटियामा स्वयंसेवीरुपमा पानी ट्यांकी संचालन गर्दै आएका शक्तिडाँडाकी मन्जुदेवी भुजेल, घ्याम्पेडाँडाका धनबहादुर पुलामी, जरुङडाँडाका हस्तबहादुर गोले र घ्यामेडाँडा पश्चिमकी नन्दमाया थापामगरलाई सम्मान गरिएको छ ।
खानेपानी संस्थानको हेटौंडास्थित कार्यालय बोर्डमा हस्तान्तरण भएपछिको पहिलो उपभोक्ता समिति हेटौंडा–१४, मयूरधापस्थित मयूरधाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष गोपालबहादुर थपलियालाई सम्मान गरेको छ ।
कार्यक्रममा खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयका सचिव मोहनकुमार शाक्य, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका–२, ६ र ११ का वडा अध्यक्षहरु, उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष प्रमोदसिंह राणाभाट, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारुमगर, जिल्ला उपाध्यक्ष धु्रव अधिकारी लगायतको उपस्थिति रहेको थियो ।







