मातृभूमि साहित्य समाजले ७ जनालाई सम्मान गर्ने
हेटौंडा- मातृभूमि साहित्य समाज मकवानपुरले सात जना व्यक्तित्वलाई नगद राशि सहित सम्मान गर्ने भएको छ ।जेठ १५ र १६ गते हुने दुई दिवसीय मातृभुमि साहित्य महोत्सव २०८२ को अवसरमा सम्मान गर्न लागिएको बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । कार्यक्रम संयोजक ह्यग्रीव आचार्यले पल्पसा प्याराडाइजमा हुने महोत्सवमा विभिन्न विधामा योगदान पु¥याएका सातजना व्यक्तित्वलाई सम्मान गर्न लागिएको जानकारी दिएका हुन् । काठमाडौंका साहित्यकार गीता रेग्मीलाई ‘मायादेवी मातृभूमि पुरस्कार २०८०’ प्रदान गरिने छ । यो पुरस्कारको राशि २१ हजार रहेको कार्यक्रम संयोजक आचार्यले जानकारी दिए ।
‘राजकुमार स्मृति मातृभूमि सम्मान २०८०’ बाट धरानका चन्द्र गुरुङ र ‘क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान २०८०’ बाट माधव काफ्ले (रौतहट) नगद १५ हजार रुपैयाँसहित सम्मानित हुनेछन् । यसैगरी, ‘होमनाथ बलदेवी मातृभूमि छन्द साहित्य सम्मान २०८१’ बाट सुदेश सत्याल, ‘मञ्जु सुवेदी स्मृति मातृभूमि सम्मान २०८२’ बाट रजनी ज्ञवालीलाई नगद १५ हजार सहित सम्मानित गरिने कार्यक्रम संयोजक आचार्यले बताए ।
पत्रकारिताक्षेत्रको योगदानलाई सम्मान गर्दै ‘मातृभूमि पत्रकारिता दीर्घ सेवा सम्मान २०८१’ बरिष्ठ पत्रकार प्रताप विष्टलाई प्रदान गरिने जनाइएको छ । त्यसैगरी झलकबहादुर बानियाँ स्मृृति मातृभूमि जीवन संघर्ष प्रोत्साहन सम्मान २०८०’ बाट हेटौंडा–१८ स्थित कमला आधारभूत विद्यालयका कक्षा ८ का उत्कृष्ट छात्रछात्रालाई नगद ७ हजार ५ सय सहित सम्मानित गरिने भएको छ । हेटौंडा उपमहानगरपालिकाको प्रवद्र्धनमा हुने कार्यक्रममा साहित्यिक परिचर्चा आयोजना गरिने साहित्य समाजका सचिव किशन पौडेलले जानकारी दिए ।कार्यक्रममा हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहने छ ।







