मातृभाषाको प्रवद्र्धनका लागि बागमतीमा प्रशिक्षण कार्यक्रम सुरु
हेटौँडा-पूर्व मकवानपुरको बागमती गाउँपालिकामा स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ मातृभाषाको प्रवद्र्धनका लागि पाँच दिने प्रशिक्षण कार्यक्रम शनिबारदेखि सुरु भएको छ । नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिको आयोजनामा तथा बागमती गाउँपालिकाको आर्थिक सहयोगमा प्रशिक्षण कार्यक्रम सुरु भएको हो । बागमती प्रदेशका नेपाल तामाङ घेदुङ अध्यक्ष लिला कुमार घलानको सभाध्यक्षता एवम्े गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष घलानले सहभागीहरूलाई प्रशिक्षणमा सिकेको ज्ञान व्यवहारमा उतार्न आग्रह गरेका छन् । उनले भाषा संरक्षण र प्रयोगमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।प्रशिक्षणमा भाषा विज्ञ अजितमान तामाङ र नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिका अध्यक्ष तथा अभियानकर्मी मोहन बहादुर गोलेले प्रशिक्षण दिएका छन् । भाषा विज्ञ गोलेले तामाङ समुदायको इतिहासबारे जानकारी दिँदै तामाङ भाषा विद्यालय तहदेखि इच्छाअनुसार डिग्री तहसम्म अध्ययन गर्न सकिने व्यवस्था हुनु पर्नेमा जोड दिए ।
उनले तामाङ भाषा तथा अन्य आदिवासी भाषाको संरक्षण र प्रवद्र्धनका लागि नेपाल तामाङ घेदुङले गरेका प्रयासहरू प्रस्तुत गर्दै भाषा नीतिलाई व्यवहारमा उतार्न राज्य स्वयं जिम्मेवार हुनुपर्नेमा जोड दिए । गोलेका अनुसार नेपालमा ६ प्रतिशत आदिवासी जनजातिले मात्र ४ प्रतिशत मातृभाषा बोलिरहेका छन् भने करिब ६ दर्जन आदिवासी भाषाहरू अझै जीवित छन् । वि.सं २०७८ सालको जनगणना अनुसार नेपालमा १६ लाख ३९ हजार ८६६ तामाङ समुदायका नागरिक रहेका छन् । प्रशिक्षण कार्यक्रममा गाउँपालिकाका शिक्षकहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, तथा स्थानीय बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।







